महेन्द्रनगर एयर रुटमा नेपाल–भारतबीच अझै सहमति जुटेन

महेन्द्रनगर एयर रुटमा नेपाल–भारतबीच अझै सहमति जुटेन

काठमाडौँ । लामो समयदेखि नेपाल र भारतबीच एयर रुटको विषयमा जारी विवाद प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा टुङ्गिने अपेक्षा गरिएको थियो । तर, नेपाल–भारतबीच यस विषयमा अझै सहमति जुट्न सकेको छैन ।

यस विषयमा छलफल गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलसहितको टोली अहिले भारतमा छ । भारतीय सरोकारवालाहरूसँग विभिन्न चरणमा छलफल गरे पनि सहमति हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए ।

प्राधिकरणका एक वरिष्ठ अधिकारीका अनुसार भारत भैरहवा र जनकपुरबाट एयर रुट दिन तयार देखिए पनि महेन्द्रनगरको रुटमा सहमति जनाएको छैन । नेपालको मुख्य माग भने महेन्द्रनगरबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रवेश रुट उपलब्ध गराउनु हो ।

भारतले यस विषयमा सुरक्षा संवेदनशीलता देखाउँदै आएको छ । पछिल्लो १२ वर्षदेखि सुरक्षा कारण देखाउँदै भारतले महेन्द्रनगर रुटको विषय टार्दै आएको थियो । प्रधानमन्त्री बालेन्द्र शाह मङ्सिर ६ गते भारत भ्रमणमा जाने तय भएपछि यसपटक भारत केही लचिलो देखिएको बताइएको छ । भारतले भने सबै विषयलाई प्याकेजमै सहमति गर्न चाहेको छ ।

भारतले पश्चिम बङ्गालको दार्जिलिङस्थित बागडोगरा विमानस्थल र बिहारको रक्सौलस्थित विमानस्थलमा उडान भर्न नेपाली आकाश प्रयोग गर्न दिनुपर्ने प्रस्ताव अघि सारेको छ । सुरक्षाको कारण देखाउँदै नेपाल यस प्रस्तावप्रति सकारात्मक देखिएको छैन । भारतले यसअघि यी विषयलाई प्राथमिकताका साथ उठाएको थिएन । तर, यसपटक दुवै विषयमा एकैपटक सहमति गर्न जोड दिइरहेको बताइएको छ ।

बागडोगरा विमानस्थल चिनियाँ सीमाको नजिक पर्ने भएकाले यस विषयमा चीनले पनि चासो राख्न थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार भारतले व्यावसायिक उडान मात्र सञ्चालन गरे नेपाललाई पनि फाइदा हुन सक्छ । तर, सैनिक जहाजको आवागमनसँग जोडिएको विषय भएकाले सुरक्षा चुनौतीबारे गम्भीर अध्ययन गरेर मात्रै निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

हाल नेपाल भित्रिने अधिकांश अन्तर्राष्ट्रिय उडानले सिमरा रुट प्रयोग गर्दै आएका छन् । एउटै प्रवेश रुटमा निर्भर हुँदा हवाई ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै उडान समय र इन्धन खर्च बढ्ने गरेको छ । यही कारण नेपालले लामो समयदेखि महेन्द्रनगर रुट उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको हो ।

भारतले रुट उपलब्ध नगराउँदा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । महेन्द्रनगर रुट नहुँदा पश्चिमबाट आउने विमान सिमरा हुँदै ती विमानस्थलमा पुग्नुपर्ने भएकाले २५ देखि ३० मिनेट अतिरिक्त समय लाग्ने गरेको छ । यसले गर्दा विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीले ती विमानस्थलमा उडान सञ्चालन गर्न अनिच्छा देखाउँदै आएका छन् ।

महेन्द्रनगर रुट उपलब्ध भए पश्चिमी मुलुक तथा मध्यपूर्वबाट आउने विमानले उक्त रुट हुँदै सिधै पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सक्नेछन् ।

वर्षौंदेखि नेपाल र भारतबीच यस विषयमा वार्ता तथा संवाद हुँदै आए पनि ठोस प्रगति हुन सकेको छैन । यसपटक सहमति हुने अपेक्षा गरिएको भए पनि अझै टुङ्गो लागेको छैन । परराष्ट्र मन्त्रालयले पनि विषयहरूमा छलफल जारी रहेको र एजेन्डाले पूर्णता नपाएको जनाएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!