भारत भ्रमणबारे रवि लामिछानेलाई जानकारी गराए प्रधानमन्त्री बालेनले

भारत भ्रमणबारे रवि लामिछानेलाई जानकारी गराए प्रधानमन्त्री बालेनले

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच करिब दुई घण्टा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् ।

खरेलका अनुसार प्रधानमन्त्री शाहले भारतको दुई दिने राजकीय भ्रमणका क्रममा तय भएको कार्यसूची, भ्रमण तालिका तथा त्यस क्रममा हुन सक्ने सहमतिका विषयमा लामिछानेलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले बिहान फोन गरेर भेटका लागि बोलाएको र निर्वाचन आयोगमा रहेका सभापति लामिछानेले छलफल सकिएपछि सिंहदरबार आउने जानकारी गराएको खरेलले बताए । मन्त्रिपरिषद् बैठकपछि उनीहरूबीच भेटवार्ता भएको थियो ।

भ्रमणका क्रममा भारतसँग आपसी सहयोग र सहकार्यका विभिन्न विषयमा छलफल तथा सहमति गर्दा देशको हित र आवश्यकतालाई प्राथमिकतामा राख्न लामिछानेले सुझाव दिएको खरेलले बताए ।

सभापति लामिछानेले प्रधानमन्त्रीको भारत भ्रमण सफल होस् भन्दै देशको हित अनुकूल हुने गरी आवश्यक सहमति र सहकार्य अघि बढाउन सुझाव दिएका थिए ।

लामिछानेको सुझावपछि प्रधानमन्त्री शाहले सरकारले देशको हित अनुकूल हुने गरी नै भ्रमणको कार्यसूची तयार गरेको जवाफ दिएका थिए ।

 

लिङ्क सफलतापूर्वक कापि गरियो!