एलिस हुआङ जासुस नभएको ट्रम्पको दाबी, ‘चीनका सुन्दर महिलालाई जासुस ठानिन्छ’

एलिस हुआङ जासुस नभएको ट्रम्पको दाबी, ‘चीनका सुन्दर महिलालाई जासुस ठानिन्छ’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलिस हुआङ चिनियाँ जासुस भएको भन्ने दाबी गलत रहेको बताएका छन् । उनले एलिसलाई जासुस नभई चिप्सको कारोबार गर्ने एक व्यवसायी महिलाका रूपमा चित्रण गरेका छन् ।

फक्स न्युजको कार्यक्रम ‘द इन्ग्राहम एङ्गल’ मा बुधबार दिएको अन्तर्वार्तामा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको कुराकानीमा जेन्सन हुआङको विषय थोरै समयका लागि मात्र उठेको बताए ।

एलिस जासुस भएको आशङ्काबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘मैले त्यस्तो सुनेको छैन । उनी जासुस थिइन् भन्ने सुनेको छैन । उनी एक सुन्दर महिला थिइन् । चीनबाट आउने कुनै पनि सुन्दर महिलालाई जासुस ठान्ने गरिन्छ । उनी चिप्स खरिद गर्ने एक व्यवसायी महिला थिइन् ।’

ट्रम्पले सी जिनपिङसँग रात्रिभोजका क्रममा भएको कुराकानीबारे पनि उल्लेख गरे । ‘हामीले पूरै साँझ कुरा गर्‍यौँ र कृत्रिम बुद्धिमत्ता (एआई) का विषयमा पनि छलफल गर्‍यौँ,’ उनले भने ।

ट्रम्पले जेन्सन हुआङको परिस्थितिलाई दुःखद घटना भन्दै उनी अत्यन्त प्रतिभाशाली व्यक्ति भएको टिप्पणीसमेत गरेका छन् ।

यसैबीच, जेन्सन हुआङले एलिससँग विवाहेत्तर सम्बन्ध रहेको स्वीकार गरेको दाबी समाचारमा गरिएको छ । उक्त खुलासापछि उनले एनभिडियाको सीईओ पदबाट राजीनामा दिनुपरेको उल्लेख छ । यद्यपि, ट्रम्पले उनलाई पटक–पटक आफ्नो जागिरका लागि लड्न सुझाव दिँदै आएका छन् ।

लिङ्क सफलतापूर्वक कापि गरियो!