काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिस तथा संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरू सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन्।
सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनेहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी रहेका छन्।
गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
त्यसपछि कात्तिक २१ गते संसदीय सुनुवाइ समितिले चारै जनाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो। सोही प्रक्रियापछि उनीहरू सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन्।