युक्रेन शान्ति वार्तामा युरोपलाई सहभागी गराउन पुटिन सहमत

युक्रेन शान्ति वार्तामा युरोपलाई सहभागी गराउन पुटिन सहमत

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको आगामी शान्ति वार्तामा युरोपेली प्रतिनिधिहरूलाई समेत सहभागी गराउन सहमत भएका छन्। अमेरिकी विशेष दूत स्टिभ विटकफले बिहीबार क्रेमलिनमा पुटिनसँगको भेटपछि यस्तो जानकारी दिएका हुन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि वार्तामा युरोपको सहभागिताको सम्भावनालाई स्वागत गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रुस र युक्रेनबीच युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र बनाइरहेका बेला पुटिनको यो सहमतिलाई महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ। यद्यपि युद्ध अन्त्यका सर्त र क्षेत्रीय विवादका विषयमा रुस तथा युरोपेली मुलुकबीच गहिरो मतभेद रहेकाले वार्ताले कस्तो परिणाम ल्याउँछ भन्ने स्पष्ट भइसकेको छैन।

पुटिनसँगको भेटपछि अमेरिकी विशेष दूत विटकफले रुसी सरकारी टेलिभिजनसँग कुरा गर्दै आगामी बैठकमा युरोपेली प्रतिनिधिहरू सहभागी हुने बताए। उनले युरोपेली मुलुकलाई साझेदारका रूपमा उल्लेख गर्दै शान्ति वार्तामा उनीहरूको सहभागिता महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे।

विटकफसँगै अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाइँ तथा विशेष दूत जारेड कुसनरले पनि पुटिनसँग भेट गरेका थिए। त्यसपछि अमेरिकी प्रतिनिधिमण्डल आयरल्यान्ड पुगेको थियो। डब्लिनमा रहेका जेलेन्स्कीसँग अमेरिकी प्रतिनिधिहरूले भेटवार्ता गरेका थिए।

जेलेन्स्कीले आगामी चरणको वार्ता र त्यसमा युरोपेली मुलुकको सहभागिताको सम्भावनाप्रति खुसी व्यक्त गरेका छन्। उनले वार्ताको एजेन्डामा युद्धविराम र द्वन्द्व न्यूनीकरणका उपाय समावेश हुने अपेक्षा पनि व्यक्त गरेका छन्।

अमेरिकी प्रतिनिधिहरूसँगको भेटपछि उनले सबै अवरोध हटाउनु महत्त्वपूर्ण रहेको बताउँदै युद्धविराम र तनाव कम गर्ने विषयमा केन्द्रित एजेन्डा तयार पार्न सहमति भएको जानकारी दिए।

युरोपसँगको सम्बन्धबारे पुटिनको टिप्पणी

क्रेमलिनमा भएको भेटका क्रममा अमेरिकी विशेष दूत कुसनरले युरोपेली पक्षको दृष्टिकोणमा ठूलो परिवर्तन आएको आफूहरूले महसुस गरेको बताएका थिए। वार्तामा युरोपेली मुलुकलाई सहभागी गराउँदा शान्ति प्रक्रियामा अवरोध नआउने विश्वास पनि उनले व्यक्त गरे।

पुटिनले भने रुस युरोपेली सङ्घसँग युक्रेन युद्धबारे संवाद गर्न सधैँ तयार रहेको दाबी गरे। तर युरोपले नै रुससँगको संवाद तोडेको उनको आरोप थियो।

उनले रुसले युरोपसँग संवाद गर्न कहिल्यै अस्वीकार नगरेको र संवाद तोड्ने काम युरोपेली मुलुकहरूले गरेको बताए।

पुटिनले युद्ध अन्त्य भएपछि युक्रेनमा पश्चिमी मुलुकका सैनिक तैनाथ गर्ने युरोपेली प्रस्तावप्रति पनि कडा आपत्ति जनाए। यस्तो कदमलाई रुसले आफ्नो राष्ट्रिय सुरक्षामाथिको खतरा मान्ने र त्यसले पुनः युद्ध सुरु गराउन सक्ने उनको चेतावनी थियो।

डोनबास छाड्न युक्रेन तयार छैन

यसै साता संयुक्त अरब इमिरेट्सको अबुधाबीमा रुस, युक्रेन र अमेरिकाबीच दुई दिनसम्म त्रिपक्षीय वार्ता भएको थियो। नौ महिनापछि भएको उक्त वार्ता अमेरिकी मध्यस्थतामा सम्पन्न पहिलो प्रत्यक्ष त्रिपक्षीय वार्ता थियो।

वार्तामा केही प्रगति भएको दुवै पक्षले स्वीकार गरे पनि महत्त्वपूर्ण विषयमा सहमति जुट्न सकेको छैन। विशेषगरी युक्रेनको भूभागसम्बन्धी विवाद शान्ति प्रक्रियाको प्रमुख चुनौती बनेको छ।

रुसले हाल युक्रेनको करिब पाँच भागको एक भाग भूभाग नियन्त्रणमा राखेको छ। रुसले पूर्वी युक्रेनको डोनबास क्षेत्रमाथि पूर्ण नियन्त्रण कायम गर्न चाहेको छ। तर युक्रेनले आफ्नो नियन्त्रणमा रहेको डोनबासको बाँकी भूभाग रुसलाई सुम्पिन अस्वीकार गर्दै आएको छ।

पुटिनले बिहीबार पनि आफ्नो क्षेत्रीय मागमा लचकता देखाउने सङ्केत गरेनन्। उनले सन् २०२२ मा रुसले आफूमा गाभिएको घोषणा गरेका चार युक्रेनी क्षेत्रमाथि पूर्ण नियन्त्रण कायम गर्ने उद्देश्यबाट पछि नहट्ने सङ्केत दिएका छन्।

रुसले आफ्नो राज्यको सीमाका रूपमा निर्धारण गरेको सीमारेखालाई नै युक्रेनसँगको सीमाङ्कनको आधार बनाउनुपर्ने पुटिनको भनाइ थियो। यसले क्षेत्रीय विवाद शान्ति वार्ताको प्रमुख पेचिलो विषयका रूपमा कायम रहेको देखाएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!