काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले विपद्को अध्ययन तथा आगामी नीति निर्माणका लागि विषयगत विज्ञ, अनुभवी व्यक्ति र प्राविधिक जनशक्तिलाई समितिसँग निरन्तर जोडेर अघि बढ्नुपर्ने बताएका छन्।
बिहीबार बसेको समितिको बैठकले ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको आन्तरिक कार्यविधि, २०८३’ पारित गरेको छ।
बैठकमा सभापति पराजुलीले समितिका सदस्यहरूको विषयगत विज्ञता र अनुभवलाई एकीकृत गर्दै काम गर्नुपर्नेमा जोड दिए। हिमालय, पर्वतारोहण, जलवायु परिवर्तन, वन तथा कृषि, भूगोललगायत विभिन्न क्षेत्रमा सदस्यहरूले हासिल गरेको ज्ञान र अनुभव समितिको कामका लागि उपयोगी हुने उनको भनाइ थियो।
उनले समितिको कामलाई प्रभावकारी बनाउन विषयगत विज्ञता भएका व्यक्ति तथा सम्बन्धित सरकारी निकायका प्राविधिक जनशक्तिसँग निरन्तर समन्वय आवश्यक रहेको बताए।
पराजुलीले विपद् व्यवस्थापन तथा अध्ययनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, भूगर्भविद्, खानी तथा भूगर्भ विभाग, नापी विभाग र मौसम विभागबाट समर्पित प्राविधिक टोलीलाई समितिसँग निरन्तर समन्वयमा राख्न प्रस्ताव गरे।
समितिले आगामी बैठकमा सम्बन्धित निकायका प्रतिनिधिलाई आमन्त्रण गरी विपद् प्रभावित क्षेत्रको विस्तृत अवस्थाबारे प्रस्तुति लिने तयारी गरेको पनि उनले जानकारी दिए।
प्रविधिको प्रयोग गरी विपद् क्षेत्रको अध्ययन
सभापति पराजुलीले विपद् प्रभावित क्षेत्रको अध्ययन गर्दा विगतका अभिलेख र वर्तमान अवस्थालाई विस्तृत रूपमा विश्लेषण गर्न सकिने प्रविधिको प्रयोग गर्नुपर्ने बताए। यसबाट विपद्को कारण, प्रभाव र जोखिमको अवस्थाबारे थप तथ्यपरक अध्ययन गर्न सकिने उनको भनाइ थियो।
उनले समितिको जिम्मेवारीलाई तत्कालीन विपद्को अध्ययनमा मात्र सीमित नराखी दीर्घकालीन नीति निर्माणतर्फ केन्द्रित गर्नुपर्ने बताए। भविष्यमा यस्ता विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न प्रभावकारी नीति तथा कार्यक्रम निर्माण गर्नु समितिको महत्वपूर्ण जिम्मेवारी रहेको उनले उल्लेख गरे।
आवश्यकताअनुसार आकस्मिक बैठक बस्ने
विपद्सम्बन्धी विषय तत्काल सम्बोधन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले समितिका बैठक आवश्यकता अनुसार आकस्मिक रूपमा पनि बस्नुपर्ने पराजुलीले बताए। त्यसका लागि समितिका सदस्यहरूबीच नियमित संवाद र समन्वय आवश्यक रहेको उनले उल्लेख गरे।
त्यस्तै, राष्ट्रिय सभाका साथै प्रतिनिधि सभाका विभिन्न क्षेत्रका विषयगत विज्ञता भएका सांसदलाई पनि समितिको काममा जोडेर अध्ययन र छलफललाई थप प्रभावकारी बनाउनुपर्ने प्रस्ताव उनले अघि सारे।
समितिको कार्यविधि तथा मार्गनिर्देशनमा विषयगत विज्ञ र सम्बन्धित निकायलाई समितिको कामसँग जोड्ने विषय समेटिएको जानकारी दिँदै पराजुलीले समितिको कामलाई विभिन्न क्लस्टरमा विभाजन गरेर अघि बढाउन सकिने बताए।