काठमाडौं । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिक बदली रहेको छ भने बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागसहित देशका तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
राति कस्तो रहला मौसम?
शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा भने आंशिक बदली रहने पूर्वानुमान छ।
देशका तराई भू–भागमा आंशिक बदली रहने र बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ।
रातिको समयमा कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।