काठमाडौं । अविरल वर्षा तथा बाढीपहिरोका कारण देशभरका मुख्य राजमार्गमा क्षति पुगेपछि यस वर्ष दसैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउन ढिलाइ हुने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडकको अवस्था सुरक्षित नभएसम्म अग्रिम टिकट बिक्री खुला गर्न नसकिने जनाएको छ।
महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले यात्रुलाई अग्रिम टिकट बिक्री गरेर असहज अवस्थामा पार्नुभन्दा सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु अहिलेको मुख्य प्राथमिकता रहेको बताएका छन्।
गत वर्ष चौतर्फी दबाबका कारण समयमै अग्रिम टिकट खुलाइए पनि सडक बिग्रिँदा यात्रुहरू तीन दिनसम्म बाटोमै अलपत्र परेको घटना स्मरण गर्दै उनले यसपटक त्यस्तो अवस्था दोहोरिन नदिन आफूहरू सचेत रहेको बताए।
यस वर्ष विगतमा जस्तै दसैंको १० देखि १५ दिनअघि नै एकैपटक अग्रिम टिकट बुकिङ खुलाउने सम्भावना कम रहेको महासंघले जनाएको छ। सडकको अवस्था हेरेर सुरुमा दुईदेखि तीन दिनका लागि मात्रै बुकिङ खुलाउने विकल्पबारे महासंघ र सरकारबीच छलफल भइरहेको छ। यातायात व्यवस्था विभागसँग हुने आगामी बैठकपछि यसबारे अन्तिम निर्णय गरिनेछ।
बाढीपहिरोका कारण सडकहरू क्षतिग्रस्त हुनुका साथै पहिरोको जोखिमसमेत कायम रहेकाले महासंघले अत्यावश्यक कामबाहेक जोखिम मोलेर यात्रा नगर्न यात्रुलाई आग्रह गरेको छ। अध्यक्ष सिटौलाले सम्भव भएसम्म जहाँ रहेका छन्, त्यहीँ दसैं मनाउनसमेत सुझाव दिएका छन्।
सडक थप क्षतिग्रस्त हुनुमा ४० देखि ७० टनसम्म भार बोक्ने मालवाहक अर्थात् ओभरलोड गाडी मुख्य कारण रहेको व्यवसायीहरूको दाबी छ। उनीहरूले यस्ता गाडीलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन्। रामनगरलगायत स्थानमा रहेका तौल पुल प्रभावकारी नभएको र हेभी गाडीहरू नियमविपरीत पास भइरहेको महासंघको आरोप छ।
यसैगरी, व्यवसायीहरूले यसपटक भाडा वृद्धि गर्न कुनै माग नराखेको स्पष्ट पारेका छन्। उनीहरूले सडकमा ट्राफिक प्रहरीले गर्ने अनावश्यक चेकिङ बन्द गर्नसमेत आग्रह गरेका छन्। सवारीको सुरुवाती विन्दुमै आवश्यक जाँच गरी अनुमति दिएपछि शङ्कास्पद अवस्था बाहेक बाटोभरि पटक–पटक रोकेर दुःख दिन नहुने व्यवसायीहरूको भनाइ छ।
यात्रालाई सुरक्षित बनाउन लामो दूरीका सवारीमा दुईजना चालक राख्ने प्रतिबद्धता पनि व्यवसायीहरूले जनाएका छन्।
गत भदौ १० गतेको बाढीपहिरोपछि सवारीसाधन बसपार्कमै थन्किँदा यातायात व्यवसायी तथा मजदुर आर्थिक समस्यामा परेको महासंघले जनाएको छ। बैंकको किस्ता तिर्न तथा कर्मचारीलाई तलब–भत्ता दिनसमेत समस्या भएको महासंघको भनाइ छ।
बाढीपहिरोबाट यातायात क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको नेतृत्वमा समिति गठन गरिएको छ। समितिले सङ्कलन गर्ने विवरणका आधारमा क्षतिपूर्ति तथा पुनरुत्थानका लागि आवश्यक तथ्याङ्क सरकारसमक्ष बुझाउने तयारी भइरहेको महासंघले जनाएको छ।