काठमाडौं । दक्षिण कोरियाको सेयर बजारमा ठूलो गिरावट आएपछि एक समाचार प्रस्तोता प्रत्यक्ष प्रसारणकै क्रममा भावुक बनेकी छन्। सियोल इकोनोमिक टिभीकी प्रस्तोता किम अह-ह्युन बजारको गिरावटबारे चर्चा गरिरहेका बेला आफ्ना आँसु रोक्न नसकेकी हुन्।
उनी ‘किम अह-ह्युन्स गोल्डेन स्टक’ कार्यक्रम सञ्चालन गरिरहेकी थिइन्। गत नोभेम्बर २५ को प्रत्यक्ष प्रसारणका क्रममा उनी भावुक बनेको दृश्य अहिले सामाजिक सञ्जालमा चर्चित बनेको छ।
किम अमेरिकाको न्यास्डक बजारमा देखिएको कमजोरीबारे चर्चा गरिरहेकी थिइन्। त्यही क्रममा स्क्रिनमा सामसुङ इलेक्ट्रोनिक्ससँग सम्बन्धित एकल कम्पनीको सेयरमा आधारित लिभरेज्ड उत्पादनको मूल्य करिब १५.२ प्रतिशतले घटेको तथ्याङ्क देखियो।
गिरावटको तथ्याङ्क देखिएलगत्तै किम केही समय बोल्न रोकिइन्। त्यसपछि उनले आफ्नो भनाइलाई निरन्तरता दिँदै कठिन बजार परिस्थितिमा पनि साना लगानीकर्तालाई धैर्य कायम राख्न आग्रह गरिन्।
केही समयका लागि कार्यक्रम अर्को खण्डमा गएपछि पुनः प्रसारणमा फर्किएकी उनले भावुक बनेकोमा दर्शकसँग माफी मागिन्। उनले बजारमा सामान्य सुधार देखिनेबित्तिकै हतारमा सेयर खरिद नगर्न र आफ्नो रकम सुरक्षित राख्न लगानीकर्तालाई सुझावसमेत दिइन्।
यो घटना दक्षिण कोरियाको सेयर बजारमा ठूलो गिरावट आएको दिन भएको थियो। त्यस दिन त्यहाँको प्रमुख सेयर बजार सूचक कोस्पी ६.१६ प्रतिशतले घटेको थियो। यो पछिल्लो १० महिनायताकै न्यून स्तर थियो।
बजारको गिरावटले सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनेक्सजस्ता ठूला चिप उत्पादक कम्पनीका सेयरमा समेत असर पारेको थियो। व्यापक बिक्री चापका कारण साना लगानीकर्ताले ठूलो घाटा बेहोरेका खबर सार्वजनिक भएका थिए।
प्रत्यक्ष प्रसारणमा प्रस्तोता रोएपछि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी हुन थाले। कतिपयले उनलाई पनि सेयर बजारको गिरावटबाट व्यक्तिगत घाटा भएको हुन सक्ने अनुमान गरे। केहीले त कार्यक्रममा आउनुअघि नै उनले आफ्नो लगानी पोर्टफोलियो हेरेको दाबीसमेत गरे।
तर, किमले पछि लाइभस्ट्रिममार्फत यी अड्कलबाजीको खण्डन गरिन्। आफू व्यक्तिगत लगानीमा घाटा भएकाले नरोएको स्पष्ट पार्दै उनले साना लगानीकर्ताले बेहोरेको पीडा र उनीहरूका दुःखद अनुभव सुनेर भावुक भएको बताइन्। उनले आफ्ना आँसुलाई ‘क्रोधी आँसु’ को संज्ञा दिएकी थिइन्।
बुधबारको ठूलो गिरावटपछि बिहीबार दक्षिण कोरियाको सेयर बजारमा सामान्य सुधार देखिएको थियो। उक्त दिन कोस्पी सूचक ०.२९ प्रतिशतले बढेको थियो। यद्यपि, उच्च ब्याजदर, लगानीकर्ताको चिन्ता तथा आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित कम्पनीका सेयरमा देखिएको तीव्र उतारचढावका कारण बजारमा अनिश्चितता कायमै रहेको छ।