मिस युनिभर्स २०२६ को ताज पोर्टो रिकोकी जेनिफर ब्यारेटोलाई, आमा बनेपछि उपाधि जित्ने पहिलो महिला

मिस युनिभर्स २०२६ को ताज पोर्टो रिकोकी जेनिफर ब्यारेटोलाई, आमा बनेपछि उपाधि जित्ने पहिलो महिला

काठमाडौं । सौन्दर्य प्रतियोगिताको ७५ वर्ष लामो इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै पोर्टो रिकोकी २७ वर्षीया जेनिफर ब्यारेटोले ‘मिस युनिभर्स २०२६’ को उपाधि जितेकी छन् ।

पोर्टो रिकोको सान जुआनस्थित जोसे मिगुएल एग्रेलोट कोलोसियममा मंगलबार राति (स्थानीय समयअनुसार नोभेम्बर २४) सम्पन्न प्रतियोगिताको ७५औँ संस्करणमा विश्वका ११६ देश तथा क्षेत्रका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

यस जितसँगै विवाहित तथा सन्तानकी आमा रहेकी ब्यारेटो मिस युनिभर्सको उपाधि जित्ने पहिलो महिला बनेकी छन् । उनी सात वर्षीया छोरी पेनेलोपिकी आमा हुन् । उनलाई सन् २०२५ की मिस युनिभर्स मेक्सिकोकी फातिमा बोसले ‘द रेडियन्स अफ इटरनल लिगेसी’ नामक हीरा जडित नयाँ ताज पहिराइदिएकी थिइन् ।

प्रतियोगिताको अन्तिम प्रश्नोत्तर चरणमा उनलाई ‘अहिलेको विश्वलाई आफ्ना नेताहरूबाट सबैभन्दा बढी के कुराको खाँचो छ ?’ भन्ने प्रश्न सोधिएको थियो । जवाफमा उनले समानुभूतिशील, आफ्ना मूल्य र मान्यतामा अडिग रहने तथा अरूका लागि उदाहरण बन्न सक्ने नेतृत्व अहिलेको आवश्यकता रहेको बताएकी थिइन् ।

प्रतियोगितामा डोमिनिकन रिपब्लिककी मेलिसा नुनेज फस्ट रनरअप भइन् भने भेनेजुएलाकी क्लारा भेगास सेकेन्ड रनरअप घोषित भइन् । त्यस्तै, फिलिपिन्सकी बिया मिलान-विन्डोर्स्की थर्ड रनरअप र न्युजिल्यान्डकी जर्जिया वाडिङ्टन फोर्थ रनरअप बनिन् ।

ब्यारेटोको जितसँगै पोर्टो रिकोले छैटौँ पटक मिस युनिभर्सको उपाधि जितेको छ । यसअघि पोर्टो रिकोले सन् १९७०, १९८५, १९९३, २००१ र २००६ मा उपाधि जितेको थियो ।

मनोविज्ञान र क्लिनिकल सोसल वर्कमा दोहोरो स्नातकोत्तर गरेकी ब्यारेटो अमेरिकी रक्षा विभागअन्तर्गत पारिवारिक हिंसा तथा बाल दुर्व्यवहार न्यूनीकरणसम्बन्धी रोकथाम विशेषज्ञका रूपमा कार्यरत छिन् ।

सन् २०२५ को ग्रीष्म ऋतुअघि मोडलिङ तथा सौन्दर्य प्रतियोगिताको अनुभव नभएकी उनले कडा मेहनतका साथ करिब ३२ किलोग्राम तौल घटाएर राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी थिइन् ।

मिस युनिभर्स सङ्गठनले सन् २०२२ अगस्टमा प्रतियोगितासम्बन्धी नियम परिवर्तन गर्दै विवाहित महिला तथा आमाहरूलाई पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो । त्यसअघि अविवाहित र सन्तान नभएका महिलाले मात्र प्रतियोगितामा भाग लिन पाउँथे । नियम परिवर्तनपछि सन् २०२३ र २०२४ मा केही आमाहरूले प्रतियोगिताको अन्तिम चरणसम्मको यात्रा तय गरेका थिए ।

यसपटक भने ब्यारेटोले उपाधि नै जितेपछि मिस युनिभर्स प्रतियोगितामा विवाहित महिला तथा आमाहरूको सहभागिताले नयाँ इतिहास बनाएको छ ।

यसअघि सन् १९७४ मा बेलायतकी हेलेन मोर्गनले १८ महिनाको छोराकी आमा हुँदाहुँदै ‘मिस वर्ल्ड’ को उपाधि जितेकी थिइन् । तर, तत्कालीन नियम र चौतर्फी दबाबका कारण उनले चार दिनमै ताज त्याग्नुपरेको थियो । ब्यारेटोको जितलाई भने सौन्दर्य प्रतियोगितामा महिला सहभागिताको दायरा विस्तार भएको घटनाका रूपमा हेरिएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!