काठमाडौं । भारतको मध्य प्रदेशस्थित इन्दौरमा रहेको प्रेस्टिज युनिभर्सिटीको भवन सन् २०२६ को ‘वर्ल्ड बिल्डिङ अफ द इयर’ घोषित भएको छ । विश्वका विभिन्न देशका वास्तुकला परियोजनालाई पछि पार्दै उक्त भवनले वर्ल्ड आर्किटेक्चर फेस्टिभल (डब्ल्यूएएफ) को प्रतिष्ठित पुरस्कार जितेको हो ।
सञ्जय पुरी आर्किटेक्ट्सले डिजाइन गरेको यो भवन ३२ एकडमा फैलिएको विश्वविद्यालय परिसरको हिस्सा हो । भवनको सबैभन्दा आकर्षक विशेषता एकपछि अर्को गर्दै तल झर्दै गएका खुड्किलाजस्ता खुला टेरेस हुन् । यी टेरेसले एकैपटक नौ हजार विद्यार्थी अटाउन सक्ने विशाल खुला सभास्थलको काम गर्छन् ।
भवनको डिजाइनमा भारतका परम्परागत ‘स्टेपवेल’ अर्थात् खुड्किला भएका इनारबाट प्रेरणा लिइएको छ । यस्ता संरचना विगतमा पानी भण्डारण गर्न प्रयोग हुन्थे । तर, ती पानीको स्रोत मात्र नभई समुदायका मानिस भेला हुने र सामाजिक गतिविधि सञ्चालन गर्ने साझा स्थलसमेत थिए । वास्तुकारले यही ऐतिहासिक अवधारणालाई आधुनिक विश्वविद्यालय भवनमा रूपान्तरण गरेका हुन् ।
भवनभित्र प्रशासनिक कार्यालय, सेमिनार हल, पुस्तकालय र क्याफेटेरिया राखिएका छन् । यी संरचनालाई हरियालीयुक्त खुला आँगनले जोडेको छ । आँगनबाट प्राकृतिक प्रकाश र हावा भवनको भित्री भागसम्म पुग्ने व्यवस्था गरिएको छ ।
इन्दौरमा वर्षको करिब आठ महिना तापक्रम ३० देखि ४० डिग्री सेल्सियससम्म पुग्ने भएकाले भवनको डिजाइनमा स्थानीय जलवायुलाई विशेष ध्यान दिइएको छ । छायायुक्त आँगन, खुला स्थान र प्राकृतिक हावा आवतजावतको व्यवस्थाले कृत्रिम प्रकाश तथा वातानुकूलन प्रणालीमाथिको निर्भरता घटाउने उद्देश्य राखिएको छ ।
वर्ल्ड आर्किटेक्चर फेस्टिभलको निर्णायक मण्डलले भवनको वास्तुकला, प्राकृतिक वातावरण, शैक्षिक आवश्यकता र अत्यधिक गर्मीको अवस्थासँग जुध्ने क्षमताबीचको समन्वयको प्रशंसा गरेको छ । हार्वर्ड ग्र्याजुएट स्कुल अफ डिजाइनकी प्राध्यापक ग्रेस ला नेतृत्वको निर्णायक मण्डलले विजेता छनोट गरेको थियो ।
सन् २०२६ नोभेम्बर १८ देखि २० सम्म अमेरिकाको फ्लोरिडास्थित फोर्ट लाउडरडेलमा आयोजित महोत्सवको अन्तिम दिन नोभेम्बर २० मा मुख्य पुरस्कार घोषणा गरिएको थियो । महोत्सवको १९औँ संस्करणमा ४२ विधाका परियोजनाबीच प्रतिस्पर्धा भएको थियो । विश्वभरका वास्तुकारहरूले आफ्ना परियोजना प्रस्तुत गरेका थिए ।