रवि र बालेनबीच पाँच घण्टा लामो छलफल, निर्वाचनदेखि सरकारका कामकारबाहीसम्म समीक्षा

रवि र बालेनबीच पाँच घण्टा लामो छलफल, निर्वाचनदेखि सरकारका कामकारबाहीसम्म समीक्षा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच बिहीबार पाँच घण्टा लामो भेटवार्ता भएको छ ।

सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा अपराह्न १ बजेदेखि साँझ ६ बजेसम्म भएको छलफल आत्मीय र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको लामिछानेको सचिवालयले जनाएको छ ।

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमण, त्यहाँ भएका संवाद तथा प्राप्त उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए । प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा गएर भोलिपल्ट साँझ स्वदेश फर्किएका थिए ।

भेटवार्तामा आगामी निर्वाचन र त्यसको तयारीका विषयमा पनि दुई नेताबीच विस्तृत छलफल भएको छ । समसामयिक राजनीतिक अवस्था, निर्वाचनको तयारी र रणनीतिबारे दुवै पक्षले विचारविमर्श गरेका छन् ।

यसैगरी, रास्वपाले सुरु गर्न लागेको पार्टी प्रशिक्षण अभियानका विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ । पार्टीको संगठनात्मक गतिविधि र प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा दुवै नेताले चासो राखेका थिए ।

छलफलका क्रममा मन्त्रीहरू, विभिन्न मन्त्रालय र सरकारका समग्र कामकारबाहीबारे समेत समीक्षा भएको जनाइएको छ । साथै, अध्यादेश, विधेयक र आगामी संसद् अधिवेशन आह्वानका विषयमा पनि प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच महत्वपूर्ण कुराकानी भएको सचिवालयले जनाएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!