खराब मौसमका कारण न्युयोर्कको थ्याङ्क्सगिभिङ परेड शनिबारका लागि सर्‍यो

खराब मौसमका कारण न्युयोर्कको थ्याङ्क्सगिभिङ परेड शनिबारका लागि सर्‍यो

न्युयोर्क । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली आँधीसहित खराब मौसम आउने पूर्वानुमानपछि न्युयोर्कमा आयोजना हुने ऐतिहासिक मेसीको थ्याङ्क्सगिभिङ डे परेड शनिबारका लागि सारिएको छ । यस वर्ष परेडको १००औँ संस्करण आयोजना हुँदैछ ।

बिहीबार थ्याङ्क्सगिभिङका दिन परेड आयोजना गर्दा तीव्र हावा, भारी वर्षा तथा अन्य प्रतिकूल मौसमका कारण जोखिम हुन सक्ने भन्दै आयोजकले कार्यक्रम एक दिन पछाडि सारेका हुन् । अब परेड शनिबार बिहान ८:३० बजे (अमेरिकी पूर्वी समय) सुरु हुनेछ ।

मौसमविद् एलिसन चिन्चरका अनुसार हाल मिसिसिपी, अलाबामा र फ्लोरिडामा आँधीसहितको मौसम सक्रिय छ । उक्त मौसमी प्रणाली साँझसम्म क्यारोलाइना राज्यतर्फ सर्ने र थ्याङ्क्सगिभिङको बिहान वासिङ्टन डीसी तथा बाल्टिमोर क्षेत्रमा पुग्ने अनुमान गरिएको छ । साँझसम्म बोस्टन र मेन राज्यको पोर्टल्यान्डसम्म पनि यसको प्रभाव फैलिन सक्ने पूर्वानुमान छ ।

पूर्वी तटीय क्षेत्रमा सन् २०१२ को सुपरस्टर्म स्यान्डीपछिकै उच्च समुद्री सतह देखिन सक्ने चेतावनी दिइएको छ । डेलावेयर र न्युजर्सीका केही क्षेत्रमा तीव्र हावाका कारण विद्युत् आपूर्ति अवरुद्ध हुन सक्ने जोखिम रहेको छ ।

परेड सारिँदा सहभागीलाई समस्या

परेडमा सहभागी हुन केन्टकीबाट न्युयोर्क पुगेका विद्यार्थी, कलाकार तथा विभिन्न समूहलाई कार्यक्रम सारिँदा आवास र यात्रा व्यवस्थापनमा समस्या भएको छ ।

केन्टकीस्थित नृत्य तथा जिम्न्यास्टिक प्रशिक्षण केन्द्रकी सञ्चालिका केटी ह्यारिसन आफ्ना किशोर उमेरका विद्यार्थीहरूसहित परेडमा सहभागी हुन न्युयोर्क पुगेकी थिइन् । उनीहरूको होटल बुकिङ शुक्रबारसम्म मात्रै भएकाले शनिबारसम्म बस्न थप व्यवस्था गर्न कठिन भएको उनले बताइन् ।

उनका अनुसार विद्यार्थीहरूले चार वर्षदेखि परेडमा सहभागी हुने तयारी गरेका थिए । यसका लागि उनीहरूले निकै मेहनतसमेत गरेका थिए ।

परेडका कार्यकारी निर्माता विल कोसले सहभागी ब्यान्ड, प्रस्तुति समूह तथा कलाकारहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् । कार्यक्रम पूर्वनिर्धारित स्वरूपमै आयोजना गर्न आफूहरू आशावादी रहेको उनको भनाइ छ ।

यस वर्षको परेडमा केके पाल्मर, मेगन मोरोनी, रे, फेइड, स्म्यास माउथ, जोजो, टेडी स्विम्स र क्विन लतिफालगायत कलाकारले प्रस्तुति दिने कार्यक्रम छ ।

अमेरिकाका दुवै तटमा मौसमको प्रभाव

आँधी र खराब मौसमका कारण अमेरिकाको पश्चिमी तटमा पनि समुद्री बाढीको जोखिम बढेको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोको दक्षिणमा रहेको प्यासिफिका क्षेत्रमा शक्तिशाली समुद्री छालका कारण घाटको एक भाग भत्किएको छ । सान डिएगो आसपास समुद्री सतहले उच्च ज्वारका पुराना रेकर्डसमेत तोडेको बताइएको छ ।

हवाई उडानमा पनि मौसमको प्रभाव देखिएको छ । बुधबारसम्म चार हजारभन्दा बढी उडान ढिला भएका छन् भने ६२ वटा उडान रद्द भएका छन् । साउथवेस्ट र युनाइटेड एयरलाइन्सले उत्तरपूर्वी अमेरिकामा थप उडान अवरोध हुन सक्ने चेतावनी दिएका छन् ।

यसैबीच, न्युयोर्कको लागार्डिया विमानस्थल नजिकै क्षेप्यास्त्र प्रक्षेपण गर्ने उपकरण रहेको सूचना आएपछि केही उडानको प्रक्रिया अस्थायी रूपमा रोकिएको थियो । तर अनुसन्धानपछि उक्त सूचना विश्वसनीय नभएको पुष्टि भएको र विमानस्थलको सञ्चालन सामान्य अवस्थामा फर्किएको अधिकारीहरूले बताएका छन् ।

लिङ्क सफलतापूर्वक कापि गरियो!