काठमाडौं । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको वर्षौं बितिसक्दा पनि उनका प्रशंसकले उनलाई सम्झिरहेका छन्। यसैबीच, उनकी दिदी श्वेता सिंह कीर्तिले सुशान्तको मृत्यु र पोस्टमार्टमसँग सम्बन्धित नयाँ दाबी सार्वजनिक गरेकी छन्।
श्वेताले आफ्नो इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै सुशान्तको पोस्टमार्टममा संलग्न व्यक्तिबाट आफूले केही नयाँ जानकारी पाएको दाबी गरेकी छन्। उनका अनुसार पोस्टमार्टम गर्ने व्यक्तिले सुशान्तमाथि आक्रमण भएको, उनको खुट्टा भाँचिएको तथा शरीरमा चोटका निशान रहेको बताएका थिए।
श्वेताले भिडियोमा दाबी गर्दै भनिन्, “भर्खरै हामीलाई थाहा भएको छ कि भाइको पोस्टमार्टम गर्ने व्यक्तिले उनीमाथि बन्दुक प्रयोग गरिएको बताएका छन्। उनको खुट्टा भाँचिएको थियो र उनीमाथि धेरै बल प्रयोग गरिएको थियो। उनको आँखामा पनि चोट लागेको थियो।”
उनले सुशान्तसँग भएको घटनालाई लिएर आफू निकै पीडित रहेको बताउँदै घटनाबारे सत्य बाहिर आउनुपर्ने भाव व्यक्त गरेकी छन्।
“म उनको दिदी हुँ। आफ्नो नजिकको व्यक्तिसँग यस्तो भएको महसुस गर्नु अत्यन्तै पीडादायी हुन्छ,” श्वेताले भनेकी छन्।
यद्यपि, श्वेताले सार्वजनिक गरेको दाबीबारे सम्बन्धित आधिकारिक निकायबाट नयाँ पुष्टि भएको जानकारी भने उल्लेख गरेकी छैनन्।
श्वेताले आफू घृणा, प्रतिशोध र आक्रोशमा डुब्न नचाहेको बताउँदै आफ्नो जीवनको उद्देश्य प्रेम, विश्वास, भलाइ र ईश्वरका पक्षमा उभिनु रहेको पनि बताएकी छन्।