काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको एकमहिने खोज, उद्धार, स्वास्थ्य सेवा तथा पूर्वाधार पुनर्स्थापनाको अभियानलाई उच्च जोखिम र चुनौतीबीच सम्पन्न गरिएको महत्त्वपूर्ण विपद् प्रतिकार्यका रूपमा सेनाले निष्कर्ष निकालेको छ ।
सेनाका अनुसार प्रतिकूल मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तर खसिरहेको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानका बीच उद्धार अभियान सञ्चालन गरिएको थियो ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भोटेकोशी बाढीले विपद् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तरनिकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने सन्देश दिएको बताए ।
बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासी पूर्वलगायत प्रभावित क्षेत्रमा ९ हजार ३०० भन्दा बढी सैनिक जनशक्ति परिचालन गरिएको सेनाले जनाएको छ । कम्पोजिट क्विक रियाक्सन टिम तथा आपत्कालीन मेडिकल टिमसहित चारवटा हेलिकप्टर तत्काल खोज तथा उद्धारका लागि परिचालन गरिएको थियो ।
४ हजार २४२ जनाको हवाई उद्धार
सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएपछि हवाई उद्धारलाई प्राथमिकता दिइएको थियो । एमआई–१७ लगायत सातवटा सैनिक हेलिकप्टर तथा निजी क्षेत्रका हवाई साधन परिचालन गरी त्रिशूली र धुन्चेमा बेस स्थापना गरिएको सेनाले जनाएको छ ।
दैनिक १५ देखि २२ वटासम्म हेलिकप्टर उडानमार्फत १ हजार ६०० भन्दा बढी उडान सञ्चालन गरिएको थियो । सो क्रममा ४ हजार २४२ जनाको उद्धार गरिएको सेनाले जनाएको छ । उद्धार गरिएकामध्ये ३ हजार ९५९ नेपाली र १२ देशका २८३ विदेशी नागरिक रहेका छन् ।
यसैगरी, पहुँचविहीन टिमुरे, स्याफ्रुबेँसी, मैलुङ र हाकुबेँसीलगायत क्षेत्रमा खाद्यान्न, औषधि, रासन तथा अक्सिजन सिलिन्डर एयरलिफ्ट र ड्रोनमार्फत पुर्याइएको थियो ।
सुरुङभित्रको उद्धार सबैभन्दा चुनौतीपूर्ण
सेनाका अनुसार बाढीपछिको उद्धार अभियानमा जलविद्युत् आयोजनाका पुरिएका सुरुङभित्र गरिएको खोज तथा उद्धार सबैभन्दा चुनौतीपूर्ण बनेको थियो ।
विभिन्न जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रबाट २ हजार ७९८ जनाको उद्धार गरिएको सेनाले जनाएको छ । लेदो, माटो र ठूला चट्टानले पुरिएका सुरुङबाट निरन्तर प्रयासपछि सात जनालाई जीवितै उद्धार गरिएको थियो ।
त्रिशूली–३ ‘ए’ आयोजनामा ड्रिलिङ मेसिन, एक्स्काभेटर, रक ब्रेकर तथा नियन्त्रित विस्फोटको प्रयोग गरी भदौ १९ गते सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको थियो ।
माथिल्लो त्रिशूली–१ को अडिट सुरुङबाट रबर बोट र थर्मल क्यामेराको प्रयोग गरी २२५ मिटर गहिराइबाट एक चिनियाँ नागरिकको उद्धार गरिएको सेनाले जनाएको छ । सो क्षेत्रमा ३७ वटा शवसमेत संकलन गरिएको थियो ।
त्यस्तै, करिब १ हजार ५० मिटर वैकल्पिक बाटो निर्माण गरी चिलिमे सुरुङमा ब्रेकथ्रु गरिएपछि पाँचवटा शव तथा मानव अंग संकलन गरिएको थियो । रसुवागढी र त्रिशूली–३ ‘बी’ आयोजनामा पनि खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ ।
१ हजार ४५१ शव व्यवस्थापनमा सहयोग
सेनाले रसुवागढीदेखि नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा जमिनी खोज तथा उद्धारलाई समेत निरन्तरता दिएको थियो । नदी किनार, जङ्गल, डाँडाकाँडा तथा सडक सम्पर्क विच्छेद भएका बस्तीमा पैदल गस्ती र थर्मल ड्रोनमार्फत खोजी गरिएको थियो ।
खोजीका क्रममा फेला परेका १ हजार ४५१ वटा शवको व्यवस्थापनमा सहयोग गरिएको सेनाले जनाएको छ । स्थानीय प्रशासन, स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको समन्वयमा शव व्यवस्थापन तथा अन्य उद्धार कार्य गरिएको थियो ।
४ हजार ३ जनालाई स्वास्थ्य सेवा
बाढी प्रभावित क्षेत्रमा सेनाले आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्ती सञ्चालन गरी ४ हजार ३ जनालाई चिकित्सा सेवा प्रदान गरेको जनाएको छ ।
गम्भीर घाइते तथा विकट क्षेत्रमा फेला परेका नागरिकलाई हेलिकप्टरमार्फत छाउनीस्थित वीरेन्द्र अस्पताल पुर्याइएको थियो । विस्थापित नागरिकका लागि अस्थायी आवास तथा होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै सम्भावित महामारी नियन्त्रणका लागि निसङ्क्रमण अभियानसमेत सञ्चालन गरिएको सेनाले जनाएको छ ।
पूर्वाधार पुनर्स्थापनामा पनि सहयोग
उद्धारसँगै प्रभावित क्षेत्रको यातायात तथा पूर्वाधार पुनर्स्थापनामा पनि सेनाले काम गरेको जनाएको छ । नुवाकोटको देवीघाटस्थित तादी नदीमा करिब ६० मिटर लामो र ६० टन भार क्षमताको एक्रो ब्रिज पाँच दिनको प्रयासपछि जडान गरी भदौ २५ गतेदेखि सञ्चालनमा ल्याइएको थियो ।
स्याफ्रुबेँसी–चिलिमे र इन्द्रेणी घाटमा तुइन तथा काठका अस्थायी फट्के निर्माण गरिएको थियो । बेत्रावतीमा बेलीब्रिज निर्माणका लागि आवश्यक पहुँचमार्ग निर्माणको कामसमेत अघि बढाइएको सेनाले जनाएको छ ।
सेनाले भोटेकोशी बाढीको अनुभवले भविष्यमा विपद् प्रतिकार्यलाई बहुनिकाय समन्वय, उच्च जोखिम व्यवस्थापन, आधुनिक खोज तथा उद्धार प्रविधि र पूर्वतयारीमा आधारित संयुक्त अभियानका रूपमा विकास गर्नुपर्ने आवश्यकता देखाएको निष्कर्ष निकालेको छ ।


