सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित

सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित

एजेन्सी । नेपालसँग सीमा जोडिएको भारतको सिक्किम राज्यमा अविरल वर्षापछि गएको भीषण पहिरोले जनजीवन प्रभावित भएको छ। सिक्किमको ग्याल्सिङ जिल्लास्थित रिम्बी क्षेत्रमा बिहीबार राति गएको पहिरोबाट ३० भन्दा बढी घर प्रभावित भएका छन्।

माथिल्लो भागबाट ठूलो मात्रामा हिलो, ढुङ्गा र मलबा बगेर बस्ती क्षेत्रमा खसेपछि केही घर तथा सरकारी आवासमा क्षति पुगेको छ। पहिरोको जोखिम बढेपछि प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने केही परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

पहिरोका कारण सडकमा समेत मलबा थुप्रिएपछि स्थानीय यातायात र आवागमन प्रभावित भएको छ। लगातार वर्षा भइरहेकाले थप पहिरो जान सक्ने जोखिम कायम रहेको अधिकारीहरूले बताएका छन्। हालसम्म घटनामा मानवीय क्षति भएको विवरण भने आएको छैन।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले रिम्बीको अवस्था गम्भीर रहेको बताउँदै प्रभावित नागरिकको सुरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको बताएका छन्। उनले सम्बन्धित अधिकारीहरूलाई उच्च सतर्कतामा रहन, अवस्थाको निरन्तर अनुगमन गर्न तथा सर्वसाधारणको सुरक्षाका लागि आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएका छन्।

मुख्यमन्त्री तामाङले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन, प्रशासनले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न तथा निरन्तरको भारी वर्षाका बीच सुरक्षित रहन आग्रह गरेका छन्। सरकारले रिम्बीको अवस्थामाथि निरन्तर निगरानी राख्दै आवश्यक राहत तथा सुरक्षा व्यवस्थापन अघि बढाइरहेको जनाएको छ।

रिम्बी र आसपासका क्षेत्रमा यसअघि पनि पहिरोका कारण सडक तथा घरहरू प्रभावित भएका थिए। सरकारी विवरणअनुसार सेप्टेम्बरको सुरुदेखि नै यस क्षेत्रमा पहिरोको जोखिम बढेको छ र प्रशासनले जोखिमयुक्त परिवारको सुरक्षा तथा अस्थायी व्यवस्थापनका लागि राहत शिविरसमेत सञ्चालन गर्ने निर्णय गरेको थियो।

लिङ्क सफलतापूर्वक कापि गरियो!