काठमाडौं । म्यानमारको सेनाले पश्चिमी रखाइन राज्यको एक बजारनजिक गरेको हवाई हमलामा कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्। समाचार एजेन्सी एपीका अनुसार सोमबार भएको उक्त हमलाका बेला बजारमा व्यापारी तथा ग्राहकको भीड थियो।
हमला भएको क्षेत्र शक्तिशाली विद्रोही संगठन आराकान आर्मीको नियन्त्रणमा रहेको बताइएको छ। आराकान आर्मीले सेनाको लडाकु विमानले बजारनजिक दुईवटा बम खसालेको दाबी गरेको छ। घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको संगठनले जनाएको छ।
आराकान आर्मीले मंगलबार बिहान जारी गरेको वक्तव्यमा हवाई हमलामा ठूलो संख्यामा सर्वसाधारण मारिएको आरोप लगाउँदै घटनामा जिम्मेवार व्यक्ति तथा संगठनविरुद्ध जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।
म्यानमारको सेनाले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। सेनाले यसअघि आफ्ना हवाई हमलाका मुख्य लक्ष्य सैन्य संरचना हुने दाबी गर्दै आएको छ। सैन्य शासनको विरोध गर्ने सशस्त्र समूहलाई उसले आतंकवादमा संलग्न रहेको आरोप लगाउँदै आएको छ।
म्यानमारमा सन् २०२१ फेब्रुअरी १ मा सेनाले आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारलाई सत्ताच्युत गरेपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो। सुरक्षा बलले प्रदर्शनलाई बलपूर्वक दबाएपछि सैन्य शासनका धेरै विरोधी समूहले सशस्त्र संघर्ष सुरु गरेका थिए। त्यसयता देशका विभिन्न क्षेत्रमा निरन्तर द्वन्द्व जारी छ।
आराकान आर्मी राखाइन राज्यको जातीय अल्पसंख्यक समुदायलाई थप स्वायत्तता दिलाउने उद्देश्य राख्ने सशस्त्र संगठन हो। उसले सन् २०२३ नोभेम्बरदेखि राखाइनमा सैन्य अभियान तीव्र बनाएपछि राज्यका १७ मध्ये १४ टाउनसिप र एउटा महत्वपूर्ण क्षेत्रीय सैन्य मुख्यालयमाथि नियन्त्रण कायम गरेको बताइएको छ।
राखाइनमा द्वन्द्व चर्किएसँगै सेनाले व्यापारिक मार्गमा कडा प्रतिबन्ध लगाएपछि खाद्यान्न आपूर्ति प्रभावित भएको छ। यसका कारण स्थानीय क्षेत्रमा खाद्यान्न अभावसमेत बढ्दै गएको बताइएको छ।
यसअघि डिसेम्बरमा राखाइनको म्राउक-यू टाउनसिपस्थित एक अस्पतालमा भएको हवाई हमलामा कम्तीमा ३४ जनाको मृत्यु भएको र ८० जना घाइते भएको विवरण सार्वजनिक भएको थियो।