काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन खुलाएको छ ।
आयोगले मंगलबार सूचना प्रकाशित गर्दै न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट मंसिर ७ गतेदेखि अनलाइन दरखास्त आह्वान गरेको हो ।
आयोगका अनुसार उम्मेदवारले पुस ७ गते राति १२ बजेसम्म एकल दस्तुरमा आवेदन दिन सक्नेछन् । तोकिएको अवधिमा आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरेर पुस १४ गते राति १२ बजेसम्म दरखास्त पेस गर्न सक्नेछन् ।
आवेदन पेस गर्दा उम्मेदवारले हालसालै खिचेको नागरिकताको फोटो, दस्तखतको नमुना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्कपत्र र अध्यापन तालिमको प्रमाणपत्रलगायत आवश्यक विवरण तथा कागजात अनलाइन फाराममार्फत अपलोड गर्नुपर्नेछ ।
परीक्षाको योग्यता, आवेदन प्रक्रिया, दस्तुर तथा अन्य आवश्यक विवरण शिक्षक सेवा आयोगको आधिकारिक वेबसाइटमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
