भारतबाट पेट्रोलियमको मूल्य बढेर आयो, नेपालमा तत्काल मूल्य नबढ्ने

भारतबाट पेट्रोलियमको मूल्य बढेर आयो, नेपालमा तत्काल मूल्य नबढ्ने

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपालका लागि पेट्रोलियम पदार्थको नयाँ मूल्य बढाएर पठाएको छ। तर, नेपाल आयल निगमले तत्काल उपभोक्ता मूल्य नबढाउने निर्णय गरेको छ।

आईओसीले बुधबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेल २० रुपैयाँ २१ पैसा र मट्टीतेल १५ रुपैयाँ ९६ पैसा बढेर आएको छ।

त्यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर १८ रुपैयाँ ६६ पैसा बढेर आएको निगमले जनाएको छ।

भारतबाट मूल्य बढेर आए पनि भोटेकोशीको बाढी, नजिकिँदै गरेका चाडपर्व तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले हाल कायम मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो।

हाल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य निर्धारणका लागि देशका विभिन्न स्थानलाई तीन वर्गमा विभाजन गरेको छ। पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम छ।

सुर्खेत र दाङ क्षेत्र समेटिएको दोस्रो वर्गमा प्रतिलिटर १९९ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपायल क्षेत्र समेटिएको तेस्रो वर्गमा प्रतिलिटर २०० रुपैयाँ मूल्य कायम छ।

त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य देशभर प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै कायम रहनेछ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट प्रत्यक्ष कच्चा तेल खरिद नगरी आईओसीबाट प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। आईओसीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य, प्रशोधन शुल्कलगायत खर्चका आधारमा प्रत्येक १५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउने गर्छ।

आईओसीबाट प्राप्त मूल्यमा भन्सार महसुल, प्रशासनिक खर्च, ढुवानी लागत तथा डिलर कमिसनलगायत खर्च समावेश गरी निगमले नेपाली बजारमा पेट्रोलियम पदार्थको उपभोक्ता मूल्य निर्धारण गर्ने गरेको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!