काठमाडौं । थाइल्यान्डको राजधानी बैंककमा लगातारको भारी वर्षापछि बाढीको अवस्था गम्भीर बनेको छ। सडकमा पानी जम्दा सवारीसाधन डुबेका छन् भने कतिपय सार्वजनिक बसभित्र समेत पानी पसेको छ। बाढी प्रभावित क्षेत्रमा मानिसहरू कम्मरसम्म आउने पानीबाट हिँड्न बाध्य भएका छन्।
बाढीको पानीमा सर्प देखिएका तस्बिर तथा भिडियोहरू समेत सार्वजनिक भएका छन्। बाढीको अवस्था गम्भीर बनेपछि प्रशासनले बैंककका सबै ५० जिल्लामा सङ्कटकाल घोषणा गरेको छ। मौसम विभागले सेप्टेम्बर २७ सम्म भारी वर्षा हुने चेतावनी दिएको छ।
बैंककमा बाढीको जोखिम बढेपछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले लन्डन भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्। बैंकक प्रशासनका अनुसार बाढी प्रभावितका लागि २३३ वटा अस्थायी राहत शिविर सञ्चालनमा ल्याइएको छ, जहाँ करिब ४ हजार २०० जनाले आश्रय लिएका छन्।
थाइल्यान्डको विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार शनिबार देशका २१ प्रान्तमा समेत बाढीजन्य अवस्था देखिएको थियो। मौसम विभागले आइतबार देशका अधिकांश क्षेत्रमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेकाले बाढीको अवस्था थप गम्भीर हुन सक्ने चेतावनी दिइएको छ।
केही क्षेत्रमा वर्षा कम भएपछि प्रशासनले जमेको पानी निकास गर्ने कामलाई तीव्रता दिएको छ। अधिकारीहरूका अनुसार थप वर्षा नभए पानीको सतह क्रमशः घट्न सक्नेछ।
बैंककको ड्रेनेज एन्ड सिभरेज विभागका अनुसार सेप्टेम्बर महिनामा राजधानीमा सामान्यभन्दा बढी वर्षा भएको छ। सेप्टेम्बर १ देखि २५ सम्म बैंककमा ४८७ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, जबकि सन् १९९१ देखि २०२० सम्म सोही अवधिको औसत वर्षा करिब २६९ मिलिमिटर रहेको थियो।
बैंककमा सेप्टेम्बरलाई वर्षायामको चरम अवधि मानिन्छ। यद्यपि, स्थानीय बासिन्दाले यसपटकको बाढीको अवस्था सामान्यभन्दा निकै गम्भीर रहेको बताएका छन्।
६३ वर्षीय स्थानीय बासिन्दा अनुटिन मीचामनानले लामो समयदेखि बैंककमा बस्दै आए पनि यस्तो अवस्था यसअघि नदेखेको बताए। उनका अनुसार केही दिनदेखि लगातार वर्षा भइरहेकाले बाढीको अवस्था गम्भीर बनेको हो।