नेतन्याहूको सम्बोधन सुरु हुनासाथ यूएन महासभाबाट दर्जनौँ प्रतिनिधि बाहिरिए

नेतन्याहूको सम्बोधन सुरु हुनासाथ यूएन महासभाबाट दर्जनौँ प्रतिनिधि बाहिरिए

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन सुरु गर्नासाथ दर्जनौँ देशका प्रतिनिधि सभाकक्षबाट बाहिरिएका छन्।

न्युयोर्कमा बिहीबार आयोजित संयुक्त राष्ट्रसंघको ८१औँ महासभा बैठकमा नेतन्याहू मञ्चतर्फ अघि बढ्दा केही प्रतिनिधिले नाराबाजी गरेका थिए भने दर्जनौँ प्रतिनिधि सभाकक्षबाट बाहिरिएका थिए।

प्रतिनिधिहरू बाहिरिएपछि नेतन्याहूले आफ्नो सम्बोधनको सुरुआतमै उनीहरूप्रति कडा टिप्पणी गरे। उनले भने, “यदि नैतिक रूपमा कायर कोही अझै यस सभाकक्षमा हुनुहुन्छ भने, कृपया अब बाहिर जानुहोस्।”

त्यसपछि उनले आफूले इरानको आणविक क्षमताविरुद्ध इजरायलको सैन्य कारबाहीलाई आवश्यक कदमका रूपमा लिएको दाबी गरे। नेतन्याहूले इजरायलले आफ्नो सुरक्षाका लागि चालिएका कदमबाट सभाकक्षबाट बाहिरिएका केही देशको पनि सुरक्षा भएको दाबी गरे।

उनले ती देशका केही नेताहरूले निजी रूपमा इजरायलले इरानका आणविक केन्द्रमाथि गरेको कारबाहीप्रति धन्यवाद दिएको दाबी गर्दै त्यसलाई “अविश्वसनीय पाखण्ड” भने।

नेतन्याहूको सम्बोधनका क्रममा इजरायल–गाजा युद्ध, इरानको आणविक कार्यक्रम र इजरायलको सैन्य कारबाही प्रमुख विषय बनेका थिए। उनको सम्बोधनअघि महासभा सभाकक्षमा प्रतिनिधिहरूको ठूलो समूह बाहिरिएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उक्त घटनाले विशेष चर्चा पाएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!