काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।
प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित दुवै टोली मैदान उत्रिनेछन् । जनकपुर जित निकाल्दै आफ्नो प्रदर्शन सुधार गर्ने योजनामा छ भने पोखरा पनि आजको खेल आफ्नो पक्षमा पार्न चाहन्छ ।
जनकपुरको कप्तानी हरमित सिंहले गर्नेछन् भने पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हाल्नेछन् । दुवै टोलीमा इफ्तिखार अहमद, जेम्स निसम, मोइन अली, शाकिब अल हसन र महेदी हसनजस्ता अनुभवी अन्तर्राष्ट्रिय खेलाडीको उपस्थिति रहेको छ ।
यसअघि शनिबार भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो । वर्षाका कारण पाँच ओभरमा छोट्याइएको अर्को खेलमा भने चितवन राइनोज र लुम्बिनी लायन्सले अंक बाँडेका थिए ।