आनी छोइङको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

आनी छोइङको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश डा. रत्नबहादुर बागचन्दको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै निवेदकको मागबमोजिम आदेश जारी हुनु नपर्ने आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारसहित विपक्षीका नाममा आदेश जारी गरेको हो ।

अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष र नवनियुक्त उपाध्यक्ष डोल्मालाई विपक्षी बनाएको छ ।

आदेशअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत तथा कोष र उपाध्यक्ष डोल्माले आफैँ वा कानुन व्यवसायीमार्फत लिखित जवाफ पेस गर्नुपर्नेछ ।

त्यस्तै, निवेदकले माग गरेको अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा दुवै पक्षबीच छलफल गर्न सर्वोच्चले आगामी मंसिर १४ गतेका लागि पेसी तोकेको छ ।

यसअघि राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहसहित विरजन विश्वकर्मा र सफलता बोगटीले डोल्माको नियुक्ति गैरकानुनी र प्रक्रियाविपरीत भएको दाबी गर्दै बदरको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिट निवेदनमा आनी छोइङको नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा नियुक्ति गरिएको र ‘सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१’ अनुसार आवश्यक योग्यता नपुगेको जिकिर गरिएको छ ।

मन्त्रिपरिषद्ले गत असोज ३० गते लुम्बिनी विकास कोष ऐनबमोजिम पाँच वर्षे कार्यकालका लागि डोल्मालाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । नियुक्तिको विरोधमा नागरिकस्तरबाट खबरदारी भइरहेका बेला उनले गत मंसिर २ गते औपचारिक रूपमा पदभार ग्रहण गरेकी थिइन् ।

लिङ्क सफलतापूर्वक कापि गरियो!