काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार भोलि बिहान काठमाडौं उपत्यका तथा खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । देशका बाँकी तराई भूभागका थोरै स्थानमा समेत हुस्सु र कुहिरो लाग्न सक्ने अनुमान गरिएको छ ।
हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।