पेरिस । अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट हालसम्म ३२ करोड ५० लाख ब्यारेल कच्चा तेल तथा तेलजन्य उत्पादन अन्तर्राष्ट्रिय बजारमा पठाइसकेको जनाएका छन्।
विश्व बजारमा इन्धनको अभाव हुन नदिन गत मार्चमा गरिएको ४० करोड ब्यारेल तेल आपूर्ति गर्ने प्रतिबद्धतामध्ये ८० प्रतिशतभन्दा बढी बजारमा पठाइएको हो।
अमेरिका–इरान तनावका कारण उत्पन्न विश्वव्यापी ऊर्जा संकट तथा बढ्दो मूल्य नियन्त्रण गर्न विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरूको समूह जी–७ ले आईईएसँगको समन्वयमा थप १० करोड ब्यारेल डिजेल तथा कच्चा तेल तत्काल बजारमा पठाउने सहमति गरेको छ।
आईईएका कार्यकारी निर्देशक फातिह बिरोलले जी–७ नेताहरूको भर्चुअल बैठकमा यसअघि गरिएको प्रतिबद्धताअनुसार बाँकी तेल बजारमा पठाउने प्रक्रिया जारी रहेकै अवस्थामा थप इन्धन बजारमा पठाउने निर्णय भएको बताएका छन्।
तर, जी–७ को वक्तव्यमा घोषणा गरिएको १० करोड ब्यारेलमा मार्चको प्रतिबद्धताबाट बाँकी रहेको करिब ७ करोड ५० लाख ब्यारेल समावेश छ वा यो पूर्णतः अतिरिक्त परिमाण हो भन्ने स्पष्ट गरिएको छैन।
आईईएको ढाँचाभित्र रहेर जी–७ तथा अन्य साझेदार राष्ट्रहरूले आगामी दिनमा विश्व बजारको अवस्थाको समीक्षा गर्दै थप इन्धन बजारमा पठाउने विषयमा छलफल गर्ने जनाइएको छ।