अकबरे खुर्सानीमा रोगको प्रकोप, इलामका किसानको लगानी डुब्ने चिन्ता

अकबरे खुर्सानीमा रोगको प्रकोप, इलामका किसानको लगानी डुब्ने चिन्ता

इलाम । अकबरे खुर्सानीका बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका छन् । मुख्य उत्पादन दिने समयमा बोट पहेँलिने, फल डढ्ने र कुहिने समस्या देखिएपछि व्यावसायिक खेती गर्दै आएका किसान मारमा परेका हुन् ।

माङसेबुङ गाउँपालिका–६ का किसान प्रदीप राईका अनुसार अकबरे खुर्सानीमा फल लाग्न थालेसँगै पात पहेँलिने, हाँगा सुक्ने र पूरै बोट मर्ने समस्या देखिएको छ । राम्रो आम्दानीको अपेक्षासहित खेती गरेका उनको बगानमा एकाएक रोगको प्रकोप देखिएपछि अधिकांश बोट मर्न थालेका छन् ।

राईले विगत दुई वर्षदेखि व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गर्दै आएका छन् । अघिल्लो वर्ष खुर्सानी बिक्री गरेर तीन लाख ५० हजार रुपैयाँ आम्दानी गरेका उनले यस वर्ष आम्दानी बढाउने उद्देश्यले खेती विस्तार गरेका थिए । यस वर्ष उनले दुई रोपनी क्षेत्रफलमा एक हजार ८०० अकबरे खुर्सानीका बिरुवा रोपेका थिए । तर, उत्पादन सुरु हुने समयमा नै बोट मर्न थालेपछि लगानीसमेत नउठ्ने अवस्था आएको उनले बताए ।

“यस वर्ष उत्पादन बढाउने उद्देश्यले अकबरे खुर्सानीको खेती विस्तार गरेको थिएँ”, उनले भने, “तर बोट हुर्किएर फल लाग्न थालेपछि फलको आधा भाग डढ्ने, कालो हुने र कुहिने समस्या बढ्यो । यसले गर्दा सबै लगानी डुब्ने अवस्था आएको छ ।”

प्रदीपजस्तै व्यावसायिक रूपमा खेती गरिरहेका अन्य किसानले पनि यस्तै समस्या भोगिरहेका छन् । अर्का किसान जीवन राईका अनुसार खुर्सानीको फलमा डढुवा लाग्ने, कीरा पर्ने, बोट पहेँलो हुने र कुहिने समस्या देखिएको छ ।

“अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुने आशाले अन्नबाली लगाउने बारीमा दुई हजार बोट खुर्सानी रोपेको थिएँ”, उनले भने, “तर फल लाग्ने समयमा रोगको प्रकोप देखिएपछि उत्पादन लिनै नपाई अधिकांश बोट नष्ट भए । मिहिनेत र लगानी दुवै खेर गएपछि अहिले के गर्ने भन्ने चिन्ता थपिएको छ ।”

खुर्सानी पाक्ने र टिप्ने समयमा डढुवा लाग्ने, कीरा पर्ने तथा बोट सुक्ने समस्या फैलिएपछि किसान समस्यामा परेको अर्की किसान कल्पना राईले बताइन् । रोगको सङ्क्रमण सुरु भएको एक महिनामै बारीमा लगाइएको खुर्सानी पूर्ण रूपमा नष्ट भएको उनले जानकारी दिइन् ।

रोगका कारण वर्षभरिको मिहिनेत खेर गएको उनको गुनासो छ । “यो वर्ष एकाएक खुर्सानीमा रोगको प्रकोप बढेको छ”, उनले भनिन्, “फल लागेको खुर्सानीको बगान सखाप भयो, मिहिनेत सबै खेर गयो । अब अन्य बाली लगाउन थालेको छु ।”

इलाममा उत्पादित अकबरे खुर्सानी स्थानीय बजारसँगै झापाको दमक बजारमा समेत बिक्री हुने गरेको छ । स्थानीय व्यापारीले बगानबाटै प्रतिकिलो २०० देखि २५० रुपैयाँसम्ममा खुर्सानी खरिद गरेर लैजाने गरेका छन् ।

पछिल्लो समय इलाममा परम्परागत खाद्यान्न बालीको विकल्पका रूपमा अकबरे खुर्सानीको व्यावसायिक खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । नगदे बालीका रूपमा राम्रो आम्दानी दिने भएकाले किसानले यसको खेती विस्तार गर्दै आएका छन् । तर, उत्पादनको मुख्य समयमा रोगको प्रकोप देखिएपछि किसानको लगानी जोखिममा परेको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!