काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक तथा अलोकतान्त्रिक रहेको आरोप लगाएका छन्।
पार्टीको जनवर्गीय संगठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार आतंक, आगजनी र तोडफोडको जगमा बनेको टिप्पणी गरे। उनले पछिल्ला राजनीतिक घटनाक्रमले देशको संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधिलाई कमजोर बनाएको दाबी गरे।
ओलीले राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरे। पूर्वप्रधानन्यायाधीश भइसकेका व्यक्तिले संविधान मिचेर प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको र उनकै सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको उनको आरोप छ।
उनले भने, “आफैं प्रधानन्यायाधीश भइसकेको व्यक्तिले संविधान मिचेर प्रधानमन्त्री बनी व्यक्तिगत तवरमा संसद् विघटनको सिफारिस गर्नुभयो। सम्माननीय राष्ट्रपतिले पनि डराएर असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गर्नुभयो र पछि लोकतन्त्र जोगाएँ भन्नुभयो। असंवैधानिक ढंगले संसद् विघटन गरेर लोकतन्त्र जोगिँदैन।”
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भए पनि अदालतले समयमै फैसला नगरेको भन्दै ओलीले असन्तुष्टि जनाए। अदालतको सम्मान गर्ने बताउँदै उनले विघटन संवैधानिक वा असंवैधानिक जे भए पनि अदालतले आफ्नो निष्कर्षसहित छिटो फैसला सुनाउनुपर्ने धारणा राखे।
अध्यक्ष ओलीले राज्यका संवैधानिक तथा लोकतान्त्रिक निकायहरू विधिको शासनअनुसार नभई आदेशका भरमा चल्न थालेको आरोपसमेत लगाए। संविधान र लोकतन्त्रको रक्षाका लागि राज्यका सबै निकाय कानुनअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले देशलाई संवैधानिक तथा लोकतान्त्रिक मार्गमा फर्काउन युवाहरू संगठित भएर दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए।