एन्थ्रोपिकको आईपीओबाट ८१.३ अर्ब डलर सङ्कलन, विश्वकै ठूलो आईपीओको कीर्तिमान

एन्थ्रोपिकको आईपीओबाट ८१.३ अर्ब डलर सङ्कलन, विश्वकै ठूलो आईपीओको कीर्तिमान

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकले बिहीबार अमेरिकी शेयर बजारमा सूचीकृत हुँदै प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत ८१.३ अर्ब अमेरिकी डलर सङ्कलन गरेको छ। यससँगै कम्पनीले विश्वकै सबैभन्दा ठूलो आईपीओको कीर्तिमान बनाएको छ। एन्थ्रोपिकले यस मामिलामा एलन मस्कको कम्पनी स्पेसएक्सको कीर्तिमानलाई समेत पछि पारेको छ।

कम्पनीको शेयर प्रतिकित्ता ८३ डलरको निष्कासन मूल्यको तुलनामा ३४ प्रतिशत बढी अर्थात् १११.५० डलरमा कारोबार सुरु भएको थियो। तर, कारोबारको अन्त्यमा १७ प्रतिशतको वृद्धिसहित शेयर मूल्य ९७.१७ डलरमा बन्द भयो।

एन्थ्रोपिकको आईपीओपछि कम्पनीका ४०० भन्दा बढी कर्मचारीको सम्पत्ति १० करोड डलरभन्दा माथि पुगेको छ। त्यस्तै, ‘हिल डटकम’ को अनुमानअनुसार कम्पनीका २ हजार ८०० कर्मचारी कम्तीमा १ करोड डलरका मालिक बनेका छन्।

यद्यपि, शेयर बिक्रीमा प्रतिबन्ध रहने लक-अप अवधि लागू भएकाले कर्मचारीले तत्काल आफ्ना शेयर बिक्री गर्न पाउने छैनन्। कम्पनीमा करिब ५ हजार कर्मचारी कार्यरत छन्।

बिहीबार बजार बन्द हुँदासम्म एन्थ्रोपिकको कुल बजार पुँजीकरण करिब १.८ ट्रिलियन डलर पुगेको छ। कारोबारका क्रममा एक समय यसको मूल्याङ्कन २ ट्रिलियन डलरभन्दा माथि पुगेको थियो। यस मूल्याङ्कनसँगै पाँच वर्ष पुरानो यो कम्पनी अमेरिकाको सातौँ ठूलो कम्पनी बनेको छ। यसभन्दा अगाडि एप्पल, माइक्रोसफ्ट, एनभिडिया, अल्फाबेट (गुगल), अमेजन र स्पेसएक्स रहेका छन्।

एन्थ्रोपिकले आईपीओबाट ८१.३ अर्ब डलर जुटाएको हो। यो यसै वर्षको जुन महिनामा एलन मस्कको कम्पनी स्पेसएक्सले जुटाएको ७५ अर्ब डलरभन्दा बढी हो। यसबाहेक एन्थ्रोपिकले गुगल, माइक्रोसफ्ट र एनभिडियाजस्ता प्रविधि कम्पनीबाट छुट्टाछुट्टै लगानीका रूपमा २६ अर्ब डलर प्राप्त गरेको छ।

विश्वव्यापी शेयर बजारमा एआई क्षेत्रमा भइरहेको ठूलो खर्चप्रति लगानीकर्ताको चिन्ता बढिरहेका बेला एन्थ्रोपिकको सूचीकरण भएको हो। प्रविधि कम्पनीहरूको मूल्याङ्कन र खर्चको दिगोपनाबारे प्रश्न उठिरहेका कारण नास्ड्याक–१०० सूचकाङ्क उच्च विन्दुबाट १० प्रतिशतले घटिसकेको छ।

यसका साथै चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख जेन्सन हुआङ कम्पनीबाट बाहिरिएको खबरले पनि प्रविधि क्षेत्रका लगानीकर्ताको चिन्ता बढाएको छ। यस्तो अवस्थामा एन्थ्रोपिकको आईपीओले पाएको बलियो प्रतिक्रियालाई बजारको मनोभावनाका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

एन्थ्रोपिकको सफलता यसको स्थापना भएको छोटो समयमै हासिल भएको उपलब्धिका कारण पनि विशेष मानिएको छ। करिब छ वर्षअघि च्याटजीपीटी निर्माता कम्पनी ओपनएआई छाडेका केही अनुसन्धानकर्ताले छुट्टै कम्पनीका रूपमा एन्थ्रोपिक स्थापना गरेका थिए।

उनीहरूको उद्देश्य अझ सुरक्षित र भरपर्दो कृत्रिम बुद्धिमत्ता प्रणाली विकास गर्नु थियो। स्थापनाको छ वर्षपछि कम्पनीका संस्थापकहरूले अमेरिकी शेयर बजारमा उद्घाटन घण्टी बजाउँदै एन्थ्रोपिकलाई विश्वका मूल्यवान् कम्पनीहरूको सूचीमा उभ्याएका छन्।

 
 
लिङ्क सफलतापूर्वक कापि गरियो!