धनुषाका विकास आयोजना तीव्र पार्न मन्त्री लम्सालको निर्देशन

धनुषाका विकास आयोजना तीव्र पार्न मन्त्री लम्सालको निर्देशन

धनुषा । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्य तीव्र पार्न निर्देशन दिएका छन् ।

मन्त्री लम्सालले बिहीबार धनुषा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत ढल्केबरको पोखरिया, इच्छापुर, नक्टाझिझ, रमदैया–सिर्सिया पुल तथा अन्दुपट्टी–कटरैत पुललगायत क्षेत्रको निरीक्षण गरेका हुन् ।

अनुगमनका क्रममा उनले सडक, पुल तथा अन्य भौतिक पूर्वाधार आयोजनाको निर्माण अवस्था, प्रगति र स्थानीय आवश्यकताबारे जानकारी लिएका थिए । लामो समयदेखि अधुरा रहेका तथा निर्माणमा ढिलाइ भएका आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन उनले सम्बन्धित प्राविधिक तथा प्रशासनिक निकायलाई निर्देशन दिए ।

विकास आयोजना कागजमा मात्र सीमित नभई नागरिकले प्रत्यक्ष लाभ पाउने गरी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उनले निर्माणको गुणस्तर र निर्धारित समयसीमामा सम्झौता नगर्न आग्रह गरे । स्थानीय आवश्यकता र जनताको मागअनुसार योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

यसै क्रममा मन्त्री लम्सालले जनकपुरधामको विकास, सौन्दर्यीकरण तथा धार्मिक पर्यटन प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए । जनकपुरधामलाई व्यवस्थित, आकर्षक र अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणका काम अघि बढाइएको उनले जानकारी दिए ।

उनले जनकपुरधामस्थित मणिमण्डपको अवलोकन गरी त्यसको संरक्षण, पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनका सम्भावनाबारे जानकारी लिए । मणिमण्डपलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने योजना रहेको उल्लेख गर्दै मन्त्री लम्सालले यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुपर्ने बताए ।

त्यसैगरी, रामजानकी स्टेडियमको निरीक्षण गर्दै उनले खेलकुद पूर्वाधारको विकास र स्तरोन्नतिमा ध्यान दिने बताए । स्टेडियमलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन आवश्यक पहल गरिने उनको भनाइ थियो ।

मधेस प्रदेशको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले सडक, पुल, भवन तथा खानेपानीलगायत पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट व्यवस्था गरिएको बताए । अधुरा आयोजना सम्पन्न गर्ने र नयाँ योजना आवश्यकताका आधारमा अघि बढाउने सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो ।

 
 
लिङ्क सफलतापूर्वक कापि गरियो!