काठमाडौं । यौन अपराधमा अभियुक्त अमेरिकी धनाढ्य जेफरी एपस्टिनको जेलमा भएको मृत्युबारे नयाँ विवाद उत्पन्न भएको छ। एक प्रख्यात फरेन्सिक विशेषज्ञले एपस्टिनको मृत्यु आत्महत्या नभई हत्या भएको दाबी गरेका छन्। उनको दाबीले सन् २०१९ मा सार्वजनिक गरिएको आधिकारिक पोस्टमार्टम निष्कर्षमाथि पुनः प्रश्न उठाएको छ।
फरेन्सिक विशेषज्ञ प्रोफेसर माइकल फ्रिम्यानले बीबीसी न्युजनाइटलाई दिएको विशेष अन्तर्वार्तामा यस्तो दाबी गरेका हुन्। उनले न्युयोर्क सिटी मेडिकल एक्जामिनरका फाइल तथा पोस्टमार्टम रेकर्डहरूको समीक्षा गरेको बताएका छन्।
आफ्नो अध्ययनका आधारमा एपस्टिनको घाँटी थिचेर हत्या गरिएको र आक्रमण पछाडिबाट भएको हुन सक्ने फ्रिम्यानको निष्कर्ष छ। उनले सोमबार साँझ लन्डनमा आफ्नो अनुसन्धानको नतिजा सार्वजनिक गरेका थिए। साथै, अनुसन्धानका निष्कर्ष र न्युयोर्क सिटी मेडिकल एक्जामिनरका सम्बन्धित अभिलेखसमेत सार्वजनिक गरेका छन्।
तर, सन् २०१९ मा एपस्टिनको पोस्टमार्टम गर्ने मेडिकल परीक्षकले उनको मृत्यु आत्महत्या भएको निष्कर्ष निकालेका थिए। पोस्टमार्टम रिपोर्टमा शरीरमा भेटिएका चोटका निशान आत्महत्यासँग मेल खाने र हत्याको घटनामा सामान्यतया देखिने प्रतिरोधका क्रममा लागेका घाउको प्रमाण नभेटिएको उल्लेख थियो।
त्यतिबेला न्युयोर्ककी मेडिकल परीक्षक डा. बारबरा स्याम्पसनले एपस्टिनको मृत्यु आत्महत्या भएको निर्णयको बचाउ गरेकी थिइन्। उनले भनेकी थिइन्, ‘म एपस्टिनको मृत्युको कारण र तरिकाबारे हाम्रो निर्धारणको पक्षमा दृढतापूर्वक उभिएकी छु।’
जेफरी एपस्टिन सन् २०१९ अगस्ट १० मा न्युयोर्कस्थित जेलमा मृत फेला परेका थिए। त्यसबेला उनी यौन तस्करीसम्बन्धी आरोपमा मुद्दाको सुनुवाइ पर्खिरहेका थिए।
प्रोफेसर माइकल फ्रिम्यान फरेन्सिक विज्ञानका चर्चित विशेषज्ञ हुन्। उनले अमेरिकामा प्रहरी हिरासतमा भएका कैयौँ चर्चित मृत्युका घटनामा महान्यायाधिवक्ताका तर्फबाट मृत्युको कारण निर्धारणसम्बन्धी विशेषज्ञका रूपमा काम गरिसकेका छन्। तीमध्ये मिनेसोटामा भएको जर्ज फ्लोयडको मृत्यु प्रकरण पनि एक हो।