बीबीसी । साउदी अरेबियाको समर्थन प्राप्त यमनका सरकारी सेनाले हुथी विद्रोहीसँग हप्तौँसम्म चलेको भीषण लडाइँपछि अन्तरिम राजधानी एडेनको सुरक्षा सुदृढ गर्न सैनिक पुनः परिचालन गरिरहेको जनाएको छ ।
दक्षिणी सशस्त्र बल (सदर्न आर्म्ड फोर्सेज) ले एडेन र आसपासका क्षेत्रको सुरक्षा व्यवस्था मजबुत बनाउन रणनीतिक महत्त्वको बाब अल–मन्देब जलडमरू क्षेत्रबाट आफ्ना सैनिक फिर्ता बोलाएको जनाएको छ । उक्त जलडमरू लाल सागरको दक्षिणी प्रवेशद्वारमा अवस्थित छ ।
हुथी विद्रोहीद्वारा सञ्चालित सञ्चारमाध्यमले सरकारी सेना पछि हटेको क्षेत्र आफ्नो नियन्त्रणमा आएको दाबी गरेका छन् । यसबारे साउदी अरेबियाले भने कुनै प्रतिक्रिया दिएको छैन ।
यससँगै हुथी विद्रोहीले गत सेप्टेम्बरमा अचानक आक्रमण गरी कब्जा गरेको प्रमुख समुद्री व्यापारिक मार्ग आसपासका क्षेत्र फिर्ता लिन सरकारी सेनाले सञ्चालन गरेको सैन्य अभियान अन्त्य भएको छ ।
सरकार समर्थित सेनाले अक्टोबरको सुरुमै हुथी विद्रोहीबाट महत्त्वपूर्ण भूभाग फिर्ता लिने क्रममा बाब अल–मन्देब जलडमरू क्षेत्र सुरक्षित गरेको दाबी गरेको थियो । त्यसको एक महिनाअघि इरान समर्थित लडाकुहरूले जलडमरूको मुखमा रहेको पेरिम टापु र रणनीतिक बन्दरगाह सहर मोखा कब्जा गरेको बताएका थिए ।
तर, यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारका तर्फबाट लडिरहेको साउदी समर्थित दक्षिणी सशस्त्र बलले आइतबार एडेनको सुरक्षालाई प्राथमिकतामा राख्दै अन्य क्षेत्रबाट पनि सैनिक फिर्ता बोलाउने निर्णय गरेको जनाएको छ ।
सेनाले जारी गरेको विज्ञप्तिमा अग्रमोर्चालाई बलियो बनाउन र विद्यमान खतराको सामना गर्न धुबाब विमानस्थल तथा बाब अल–मन्देब क्षेत्रबाट सैनिक फिर्ता बोलाइएको उल्लेख छ । राजधानी एडेन र छिमेकी प्रान्तको सुरक्षा सुदृढ गर्नु यस कदमको मुख्य उद्देश्य रहेको विज्ञप्तिमा जनाइएको छ ।
हुथी विद्रोहीहरूले जलमार्ग आसपासका क्षेत्र कब्जा गर्दा त्यहाँबाट आवतजावत गर्ने अन्तर्राष्ट्रिय पानीजहाजलाई खतरा नरहेको दाबी गरेका थिए । तर, साउदी अरेबियाका जहाजलाई भने निशाना बनाइरहने चेतावनी दिएका थिए ।
अमेरिका र इजरायल तथा इरानबीचको युद्धका कारण हर्मुज जलडमरू प्रभावकारी रूपमा बन्द भएपछि साउदी अरेबियाले तेल निर्यातका लागि लाल सागरको मार्गमा निर्भर रहनुपरेको छ । यस्तो अवस्थामा बाब अल–मन्देब क्षेत्रमाथिको नियन्त्रणले विश्वव्यापी तेल आपूर्तिमा थप दबाब सिर्जना गरेको छ ।
यसैबीच, संयुक्त राष्ट्रसंघकी मानवअधिकार प्रवक्ता रविना शमदासानीले द्वन्द्वमा संलग्न सबै पक्षलाई सर्वसाधारण नागरिक र नागरिक पूर्वाधारको सुरक्षा गर्न आग्रह गरेकी छन् । उनका अनुसार अगस्टमा लडाइँ चर्किएयता अभिलेख गरिएका नागरिक हताहतीमध्ये ६० प्रतिशतभन्दा बढी महिला र बालबालिका छन् ।
पछिल्ला हप्ताहरूमा हुथी विद्रोहीले एडेनमा लगातार आक्रमण गर्दै आएका छन् । अक्टोबर १५ मा राष्ट्रपति भवनलाई लक्षित गरी गरिएको आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।
त्यसको जवाफमा साउदी अरेबियाले सयौँ हवाई आक्रमण गरेको छ । हुथी विद्रोहीले पनि साउदी सहर तथा पूर्वाधारलाई लक्षित गरी सयौँ ड्रोन र क्षेप्यास्त्र प्रहार गरेका छन् ।
लडाइँ चर्किएयता यमनमा करिब तीन लाख ३० हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघको अनुमान छ । द्वन्द्वका क्रममा सयौँ मानिसको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।
सन् २०१४ मा हुथी विद्रोहीले राजधानी सानाबाट सरकारलाई अपदस्थ गरेपछि यमनमा गृहयुद्ध सुरु भएको थियो । सन् २०१५ मा तत्कालीन सरकारको शासन पुनर्स्थापना गर्ने उद्देश्यले साउदी नेतृत्वको अरब राष्ट्रहरूको गठबन्धनले सैन्य हस्तक्षेप गरेपछि द्वन्द्व थप चर्किएको थियो ।
चार वर्षदेखि जारी अनौपचारिक युद्धविराम गत जुलाईमा भङ्ग भएको थियो । त्यसबेला हुथी विद्रोहीले साउदी अरेबियाविरुद्ध समुद्री नाकाबन्दी घोषणा गर्दै लाल सागर क्षेत्रमा रहेका साउदी विमानस्थल, तेल प्रशोधन केन्द्र र ट्यांकरलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण सुरु गरेका थिए ।
साउदी अरेबियाले आफ्नो नियन्त्रणमा रहेका बन्दरगाह तथा विमानस्थलमा नाकाबन्दी लगाएको र साना विमानस्थलमा हवाई आक्रमण गरेको भन्दै त्यसको प्रतिकारमा आफूहरूले आक्रमण गरेको हुथी विद्रोहीको दाबी छ ।