काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयामको विद्युत् माग व्यवस्थापनका लागि भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे–अहेड तथा रियल टाइम मार्केटबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न स्वीकृति दिएको हो।
प्राप्त अनुमतिअनुसार प्राधिकरणले १ मंसिर २०८३ (१७ नोभेम्बर २०२६) देखि १५ साउन २०८४ (३१ जुलाई २०२७) सम्म विद्युत् आयात गर्न पाउनेछ। यसअन्तर्गत बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मको उच्च माग हुने समय (पिक आवर) बाहेक अन्य समयमा आईएक्सबाट विद्युत् आयात गर्न सकिनेछ।
यसका लागि कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यु नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् आयात गर्ने व्यवस्था मिलाइएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भारतबाट ३५० मेगावाट विद्युत् आयातको अनुमति प्राप्त भएसँगै आगामी हिउँदयाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहज हुने बताएका छन्।
रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमताका आयोजना राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन्। यस अवस्थालाई समेत ध्यानमा राखेर हिउँदयामको विद्युत् व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको उनको भनाइ छ।
गत वर्षको विद्युत् माग र उत्पादनको विश्लेषणअनुसार यस वर्ष पुस, माघ, फागुन र चैत गरी चार महिना आन्तरिक उत्पादनले मात्रै माग धान्न नसक्ने देखिएको छ। विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म निरन्तर विद्युत् आपूर्ति आवश्यक पर्ने र उच्च माग हुने पिक आवरमा दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने प्राधिकरणको आकलन छ।
यद्यपि, पुस र चैतमा भने तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने अनुमान गरिएको छ। वैशाख लागेसँगै नदीहरूमा पानीको बहाव बढ्ने भएकाले आन्तरिक विद्युत् उत्पादन वृद्धि हुने र आयात प्रतिस्थापन गर्दै पुनः निर्यात सुरु हुने अपेक्षा गरिएको छ।
यसैबीच, प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति प्राप्त गरेको छ। आयात अनुमतिकै समयावधिअनुसार प्राधिकरणले १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म उक्त परिमाणको विद्युत् भारततर्फ निर्यात गर्न पाउनेछ।