काठमाडौं । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट २० करदाताको नाम सार्वजनिक गरेको छ ।
विभागले आयोजना गरेको कर दिवस समारोहमा सार्वजनिक विवरणअनुसार निकायमध्ये सबैभन्दा धेरै आयकर दाखिला गर्ने करदातामा सूर्य नेपाल परेको छ भने व्यक्तिगत आयतर्फ राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन् ।
त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ सबैभन्दा धेरै कर दाखिला गर्ने कम्पनीमा हिमालयन डिस्टिलरी लिमिटेड परेको छ । बैंकिङ क्षेत्रबाट नबिल बैंक, पर्यटन व्यवसायबाट सोल्टी होटल लिमिटेड र सूचना प्रविधि क्षेत्रबाट तिन फाइनाइट सर्भिसेस नेपाल उत्कृष्ट करदाता बनेका छन् ।
एकलौटी व्यवसायको क्षेत्रबाट थर्ड आई इन्टरनेशनल, वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि र कृषि तथा पशुपन्छी व्यवसायबाट ओसीबी फुड्स एण्ड फिड्स उत्कृष्ट करदाता घोषित भएका छन् ।
त्यसैगरी, स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल कलेज तथा टिचिङ हस्पिटल, वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालि र ५० देखि १०० करोड रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीमध्ये फुड एण्ड बेभरेज रिसर्च सेन्टर प्रालि उत्कृष्ट बनेका छन् ।
ऊर्जामूलक कम्पनीतर्फ भोटेकोशी पावर प्रालि, रेमिट्यान्स तथा मनी एक्सचेन्जतर्फ आईएमई लिमिटेड, ५० करोड रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीमध्ये इम्पेरियल सेक्युरिटिज प्रालि र विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल प्रालि उत्कृष्ट करदाता बनेका छन् ।
जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड, निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र लघुवित्त क्षेत्रबाट छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड उत्कृष्ट करदाताका रूपमा छनोट भएका छन् ।
यसैगरी, प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद उल्लेखनीय कर दाखिला गरेको भन्दै एक्सेप्सनल बिजनेस विधातर्फ भाटभटेनी सुपरमार्केटलाई सम्मान गरिएको छ । भाटभटेनीका तर्फबाट सावित्री गुरुङले सम्मान तथा प्रमाणपत्र ग्रहण गरेकी थिइन् ।
उत्कृष्ट घोषित करदाता तथा कम्पनीका प्रतिनिधिहरूलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका अधिकारीहरूले प्रमाणपत्रसहित सम्मान गरेका थिए ।
यस वर्षका उत्कृष्ट २० करदाताको पूर्ण सूची :
1. निकायमध्ये सबैभन्दा धेरै आयकर दाखिला : सूर्य नेपाल
2. एकलौटी व्यवसायतर्फ : थर्ड आई इन्टरनेशनल
3. वस्तु निर्याततर्फ : डाबर नेपाल प्रालि
4. सूचना प्रविधितर्फ : तिन फाइनाइट सर्भिसेस नेपाल
5. कृषि तथा पशुपन्छी व्यवसायतर्फ : ओसीबी फुड्स एण्ड फिड्स
6. बैंकिङ क्षेत्रतर्फ : नबिल बैंक
7. स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ : नोबेल कलेज तथा टिचिङ हस्पिटल
8. पर्यटन व्यवसायतर्फ : सोल्टी होटल लिमिटेड
9. वस्तु व्यापारतर्फ : सीजी इम्पेक्स प्रालि
10. ५० देखि १०० करोड रुपैयाँसम्मको कारोबारतर्फ : फुड एण्ड बेभरेज रिसर्च सेन्टर प्रालि
11. ऊर्जामूलक कम्पनीतर्फ : भोटेकोशी पावर प्रालि
12. रेमिट्यान्स तथा मनी एक्सचेन्जतर्फ : आईएमई लिमिटेड
13. व्यक्तिगत आयतर्फ : राजबहादुर शाह
14. मूल्य अभिवृद्धि करतर्फ : हिमालयन डिस्टिलरी लिमिटेड
15. ५० करोड रुपैयाँसम्मको कारोबारतर्फ : इम्पेरियल सेक्युरिटिज प्रालि
16. विशेष उद्योगतर्फ : वरुण बेभरेज नेपाल प्रालि
17. जीवन बीमातर्फ : लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड
18. निर्जीवन बीमातर्फ : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
19. लघुवित्ततर्फ : छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
20. प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद धेरै कर तिर्ने (एक्सेप्सनल बिजनेस) : भाटभटेनी सुपरमार्केट