सी, ट्रम्प र पुटिनबीच नोभेम्बर १९ मा शेन्जेनमा त्रिपक्षीय शिखर बैठक हुने

सी, ट्रम्प र पुटिनबीच नोभेम्बर १९ मा शेन्जेनमा त्रिपक्षीय शिखर बैठक हुने

बेइजिङ । चीनले राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी नोभेम्बर १९ मा शेन्जेनमा पहिलो त्रिपक्षीय शिखर बैठक हुने पुष्टि गरेको छ । विश्वका तीन प्रमुख शक्ति राष्ट्रका नेताबीच हुन लागेको यस भेटवार्तालाई अन्तर्राष्ट्रिय कूटनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

चिनियाँ विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति सीले नोभेम्बर १९ मा शेन्जेनमा आफ्ना अमेरिकी र रुसी समकक्षीसँग भेटवार्ता गर्ने उल्लेख गरेको छ । यद्यपि, बैठकको कार्यसूची र छलफलका विषयबारे मन्त्रालयले थप विवरण सार्वजनिक गरेको छैन ।

यो उच्चस्तरीय भेटवार्ता चीनको गुआङ्दोङ प्रान्तमा आयोजना हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिखर सम्मेलनसँग पनि जोडिएको छ ।

चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् (सीसीपीआईटी) ले आइतबार दिएको जानकारीअनुसार नोभेम्बर १७ र १८ मा हुने उक्त सम्मेलनमा राष्ट्रपति सीसहित एपेकका १२ सदस्य अर्थतन्त्रका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार परिषद्का उपाध्यक्ष ली छिङ्सुआङले पत्रकार सम्मेलनमा अस्ट्रेलिया, क्यानडा, चिली, हङकङ, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, रुस, थाइल्यान्ड, भियतनाम र आयोजक चीनका प्रतिनिधिहरूले सम्मेलनका विभिन्न सत्रमा सहभागिता जनाउने जानकारी दिएका छन् ।

राजनीतिक नेतृत्वसँगै सम्मेलनमा विश्वका ठूला व्यावसायिक संस्थाका प्रतिनिधिहरूको पनि उल्लेख्य सहभागिता रहनेछ । फर्च्युन ग्लोबल ५०० सूचीमा रहेका ११५ कम्पनीका कार्यकारीहरू सम्मेलनमा सहभागी हुनेछन् ।

उपाध्यक्ष लीका अनुसार मुख्य भूमि चीनबाहिरका मुलुक तथा क्षेत्रबाट सहभागी हुने प्रतिनिधिमण्डलमध्ये अमेरिकी उद्यमहरूको सङ्ख्या सबैभन्दा बढी हुनेछ । सम्मेलनमा सहभागी कुल कम्पनीमध्ये करिब २० प्रतिशत अमेरिकी कम्पनी रहने उनले बताए ।

सम्मेलनमा अमेरिका, रुस र जापानका व्यापारिक सङ्घका नेताहरूका साथै विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू पनि सहभागी हुनेछन् ।

‘सँगै समृद्धि हासिल गर्ने र भविष्य जित्ने’ नारासहित आयोजना हुने यस मञ्चले एपेकका आर्थिक नेताहरूको बैठकका क्रममा सरकारी नीति र निजी क्षेत्रका व्यावसायिक प्राथमिकताबीच समन्वय बढाउने अपेक्षा गरिएको छ ।

सम्मेलनमा आपूर्ति शृङ्खलालाई थप भरपर्दो बनाउने, क्षेत्रीय व्यापारिक प्रक्रियालाई सहज तुल्याउने तथा डिजिटल र हरित अर्थतन्त्रका क्षेत्रमा संयुक्त लगानी र सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

यसैबीच, आगामी नेताहरूको शिखर सम्मेलनका लागि निजी क्षेत्रका नीतिगत सुझाव तयार पार्ने उद्देश्यले एपेक व्यापार सल्लाहकार परिषद्को चौथो बैठक नोभेम्बर १४ मा शेन्जेनमा सुरु भएको थियो । परिषद्ले निजी क्षेत्रका सुझाव समेटेर आगामी नेताहरूको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!