एनभिडियाका पूर्वसीईओ हुआङ चिनियाँ जासुसी र चिप तस्करी विवादमा मुछिए

एनभिडियाका पूर्वसीईओ हुआङ चिनियाँ जासुसी र चिप तस्करी विवादमा मुछिए

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माण गर्ने अमेरिकी प्रविधि कम्पनी एनभिडियाका पूर्वप्रमुख जेन्सेन हुआङ चिनियाँ जासुस भएको आरोप लागेकी एलिस हुआङसँगको सम्बन्ध र चीनमा एआई चिप पुर्‍याइएको आशङ्कासम्बन्धी विवादमा मुछिएका छन् ।

आफ्नै कम्पनीकी एक कर्मचारी तथा एलिस हुआङसँग विवाहेत्तर सम्बन्ध रहेको आरोप सार्वजनिक भएपछि उनले एनभिडियाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिएको समाचारमा उल्लेख छ ।

यसैबीच, सिङ्गापुरस्थित मेगास्पिड कम्पनीले एलिस हुआङले गत वर्ष अगस्टमै आफ्नो कार्यकारी भूमिका छाडिसकेको स्पष्ट पारेको छ । दक्षिणपूर्वी एसियामा एनभिडियाका चिपको सबैभन्दा ठूलो खरिदकर्ता मानिने मेगास्पिडमार्फत अमेरिकी प्रतिबन्ध छल्दै उच्च प्रविधियुक्त एआई चिप चीन पुर्‍याइएको आशङ्का गरिएको छ । अमेरिकाले एनभिडियालाई आफ्ना अत्याधुनिक चिप चीनमा बिक्री गर्न प्रतिबन्ध लगाएको छ ।

मेगास्पिडले मलेसिया, इन्डोनेसिया र थाइल्याण्डमा रहेका आफ्ना डाटा सेन्टरमार्फत चिनियाँ कम्पनीहरूलाई ती चिपमा अप्रत्यक्ष पहुँच उपलब्ध गराएको आरोप लागेको छ । यी आशङ्काहरू सार्वजनिक भएपछि सिङ्गापुरमा मुख्यालय रहेको मेगास्पिडले आइतबारदेखि आफ्नो व्यावसायिक गतिविधिबारे आन्तरिक छानबिन सुरु गरेको घोषणा गरेको छ ।

कम्पनीले आफ्नो व्यवसाय, आपूर्ति शृङ्खला र विश्वव्यापी सञ्चालनबारे प्रमाणित तथ्यबिनाका दाबीहरू सार्वजनिक भएको जनाएको छ । आफू वैध व्यावसायिक गतिविधिमा संलग्न रहेको दाबी गर्दै मेगास्पिडले निष्पक्ष छानबिनका लागि बाह्य कानुनी सल्लाहकार नियुक्त गरेको पनि स्पष्ट पारेको छ ।

मेगास्पिडले आफूले कारोबार गर्ने सबै क्षेत्रका स्थानीय कानुन तथा अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी प्रावधान पूर्ण रूपमा पालना गरेको दाबी गरेको छ । यता, सिङ्गापुर सरकारले अन्य मुलुकले एकपक्षीय रूपमा लगाएका निर्यात प्रतिबन्ध आफूले लागू नगर्ने भए पनि आफ्नो क्षेत्राधिकारभित्रका कम्पनीहरूले त्यस्ता नियमको सम्मान गर्नुपर्ने अपेक्षा राखेको जनाएको छ ।

यसैबीच, अमेरिकी सांसद जन मुलिनारले एनभिडियाका पूर्वप्रमुख हुआङ अमेरिकी कंग्रेसका चीनसम्बन्धी विशेष समिति, परराष्ट्र मामिला समिति तथा गुप्तचर समितिमा बयान दिन सहमत भएको जानकारी दिएका छन् । समितिका प्रमुखहरूले उपस्थित नभए अदालतसरहको अधिकार प्रयोग गरी उपस्थितिको आदेश (सबपिना) जारी गर्ने चेतावनी दिएपछि हुआङ बयान दिन तयार भएको बताइएको छ ।

यता, चीनले एलिस हुआङ जासुस भएको आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । चीनले यस प्रकरणलाई आधार बनाएर एआई प्रविधिमा प्राविधिक नाकाबन्दी नलगाउन अमेरिकालाई चेतावनीसमेत दिएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!