काठमाडौं । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासले आगामी नोभेम्बर १६, २०२६ देखि दूतावासबाट प्रदान गरिने सेवाबापतको सरकारी राजस्व शुल्क नगदमा बुझाउन सेवाग्राहीलाई आग्रह गरेको छ ।
अस्ट्रेलियामा अक्टोबर १ देखि लागू भएको नयाँ भुक्तानी व्यवस्थाअनुसार भिसा, मास्टरकार्ड तथा एफ्ट्पेस् लगायतका कार्डमार्फत भुक्तानी गर्दा अतिरिक्त शुल्क लिन नपाइने भएपछि दूतावासले नगद भुक्तानीको व्यवस्था गर्न लागेको हो ।
दूतावासका अनुसार बैंक तथा वित्तीय संस्थाले कार्डमार्फत हुने भुक्तानीमा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था लागू गरेपछि राजस्व रकम फिर्ता गर्ने प्रक्रियामा थप आर्थिक भार पर्ने भएकाले नगद भुक्तानीको विकल्प रोजिएको हो ।
यो व्यवस्था अस्थायी रहेको र वैकल्पिक भुक्तानी प्रणालीको व्यवस्था नभएसम्म लागू रहने दूतावासले जनाएको छ ।
दूतावासको निर्णयप्रति केही सेवाग्राहीले भने असन्तुष्टि जनाएका छन् । नेपाल न्युज बैंकसँग कुरा गर्दै वुलोङगोङ निवासी उमेश कुमार गौतमले नगद भुक्तानी अनिवार्य गर्दा टाढाबाट आउने सेवाग्राहीलाई असुविधा हुने बताए ।
‘टाढाबाट दूतावास आउँदा हामी नगद बोकेर हिँडेका हुँदैनौँ । निर्धारित समयमा पुग्न हतार हुन्छ । यस्तो अवस्थामा बैंक पुगेर नगद निकाल्नुपर्ने हुँदा थप झन्झट हुन्छ,’ गौतमले भने ।
उनले विशेषगरी अस्ट्रेलियाका विभिन्न सहरबाट दूतावासको सेवा लिन क्यानबेरा पुग्ने नेपालीका लागि नगद भुक्तानीको व्यवस्था असहज हुने बताए ।
वैकल्पिक डिजिटल भुक्तानी प्रणालीको व्यवस्था नहुँदासम्म सेवाग्राहीले सरकारी शुल्क नगदमै बुझाउनुपर्ने भएकाले दूतावास जानेहरूले आवश्यक रकमको अग्रिम व्यवस्था गर्नुपर्ने देखिएको छ ।