महोत्तरी । तिहारको बिदाइसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु भएको छठ पर्वका कारण महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रका गाउँबस्ती र मुख्य बजारमा विशेष चहलपहल देखिएको छ। चार दिनसम्म निष्ठापूर्वक मनाइने यस महापर्वको तयारीमा स्थानीय बासिन्दा व्यस्त छन्।
आस्था, पवित्रता र भक्तिको प्रतीक मानिने छठ पर्वको स्वागतमा मिथिलाका घरआँगनमा परम्परागत छठ गीत गुञ्जिन थालेका छन्। सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीतले समग्र मिथिला क्षेत्रलाई छठमय बनाएको छ।
पर्वलाई भव्य रूपमा मनाउन स्थानीय बासिन्दा नदीकिनार, पोखरी तथा धार्मिक महत्त्व बोकेका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन्। विशेषगरी युवा पुस्ता छठघाटको निर्माण, सरसफाइ तथा सजावटमा सक्रिय देखिएको छ।
ग्रामीण क्षेत्रमा बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ताहरू लिपपोत तथा रङरोगन गरेर चिटिक्क पारिँदै छन्। सडक, घर तथा सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएकाले रातिको दृश्यसमेत मनमोहक बनेको छ। धनी होस् वा गरिब, सबैले आ–आफ्नो गच्छेअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन्।
पर्व नजिकिएसँगै स्थानीय बासिन्दाको दैनिकी नै छठकेन्द्रित बनेको छ। आपसी भेटघाट र भलाकुसारीदेखि दैनिक घरायसी कामकाजसमेत छठको तयारीमा केन्द्रित हुन थालेको बर्दिबास–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताए।
त्यसैगरी, मिथिला क्षेत्रका बजारमा छठ पूजाका सामग्री खरिद गर्ने उपभोक्ताको भीड लागेको छ। केराका घरीसहित पर्वमा अनिवार्य मानिने अन्य सामग्रीको कारोबार बढेको छ।
स्थानीय किसानले छठ पूजामा चढाइने उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुला, ज्यामिर र जटा नरिवललगायत कृषि उपज बजारमा ल्याउने तयारी गरेका छन्। यस्ता सामग्रीको मुख्य कारोबार शनिबार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले जानकारी दिए।
छठ पूजाका सामग्री राख्न तथा घरायसी प्रयोजनका लागि बाँसका चोया र कप्टेराबाट बुनिएका ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री पनि साप्ताहिक हाटबजारमा बढेको छ।
त्यस्तै, बत्ती बाल्न प्रयोग हुने माटाका दियो, दही जमाउने छ्याँची, पूजासामग्री राख्ने टौला, पानी राख्ने अङ्खरा र गाग्रीलगायत माटाका भाँडाकुँडाको माग पनि उच्च छ। छठमा चोखो र नयाँ भाँडामा पूजासामग्री राखेर अर्घ्य दिने परम्परा रहेकाले बाँस र माटाका सामग्रीको व्यापार बढेको हो।
अर्कोतर्फ, घरघरमा छठको मुख्य प्रसाद तयार पार्ने चटारो पनि उत्तिकै बढेको छ। ठकुवा र भुसुवालगायत परिकार बनाउन गृहिणी बिहानैदेखि व्यस्त देखिन्छन्। चामल र गहुँको पिठो घरमै परम्परागत ढिकी र जाँतोमा कुट्ने तथा पिँध्ने मौलिक परम्परा अझै जीवित छ।
शुद्धता र पवित्रतालाई सर्वोपरि मानिने यस पर्वमा परिवारका सबै सदस्यको आपसी सहयोगमा प्रसाद तयार गरिन्छ। यतिबेला मिथिलाका महिलाहरू छठका लागि आवश्यक चामल र गहुँको पिठो तयार पार्न व्यस्त छन्। छठको तयारीमा बाहिरी तडकभडकभन्दा भित्री निष्ठा र शुद्धता नै महत्त्वपूर्ण रहेको भङ्गाहा–४ रामनगरकी ५५ वर्षीया शान्तिदेवी साहले बताइन्।
मिथिलाञ्चलमा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विधिपूर्वक छठ पर्व मनाइन्छ। पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ भने दोस्रो दिन ‘खरना’ गरिन्छ। तेस्रो दिन साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने छठ पर्व विधिवत् रूपमा सम्पन्न हुन्छ।
छठ पर्वले समाजमा रहेका पुराना तिक्तता र मनमुटाव बिर्सेर सबैलाई एउटै सूत्रमा बाँध्दै सूर्यदेवको आराधना गर्न प्रेरित गर्छ। छठघाटमा जातीय, वर्गीय वा सामुदायिक विभेद नगरी सबैले एउटै लहरमा बसेर पर्व मनाउने अनुपम परम्परा छ।
पर्वको सामूहिक तयारीमा सहभागी हुँदा धार्मिक आस्थाले मानिसलाई थप विनम्र, अनुशासित र सहयोगी बनाउने स्थानीय बासिन्दाको विश्वास छ। सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पावन पर्वले परिवार तथा समाजमा सुख, शान्ति, मङ्गल र कल्याण ल्याउने जनविश्वास रहिआएको छ।