काठमाडौं उपत्यकामा २४ घण्टामा ५५७ सवारी चालक कारबाहीमा

काठमाडौं उपत्यकामा २४ घण्टामा ५५७ सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५५७ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले शुक्रबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको सवारी जाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो।

प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०६ जना, सिसिटिभी निगरानीमार्फत पहिचान गरिएका २५ जना र रातो बत्ती उल्लङ्घन गर्ने ३८ जना चालक कारबाहीमा परेका छन्।

त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ८४ जना, हर्न निषेध गरिएको क्षेत्रमा हर्न बजाउने दुई जना र सवारीसाधनको अवस्था ठीक नराखी चलाउने नौ जना चालकलाई पनि कारबाही गरिएको छ।

यसैगरी, अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने २८९ जना चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले सवारी चालकलाई गति नियन्त्रण गर्न, मापसे गरेर सवारी नचलाउन, ट्राफिक सङ्केतको पालना गर्न तथा सवारीसाधनको अवस्था नियमित जाँच गर्न प्रहरीले आग्रह गर्दै आएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!