काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा टर्कीको अन्ताल्यामा आज उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोसी बाढीपछि नेपालप्रति समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेकोमा महासचिव गुटेरेसलाई धन्यवाद दिएका थिए।
उनले संयुक्त राष्ट्रसंघको नेतृत्व गर्दै बहुपक्षीयता, विश्व शान्ति, मानवीय गरिमा र दिगो विकासका क्षेत्रमा महासचिव गुटेरेसले पुर्याएको योगदानको प्रशंसा गरे।
त्यस अवसरमा महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख राष्ट्रमध्ये एक नेपालले विश्व शान्ति र स्थायित्वका लागि पुर्याउँदै आएको योगदानको सराहना गरेका थिए।
भेटमा भोटेकोसी बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माण, विश्वव्यापी शासन प्रणालीमा सुधार, बहुप्रकोप पूर्वसूचना प्रणाली, जलवायु वित्तमा वृद्धि तथा जलवायु कार्यका विषयमा छलफल भएको थियो।
त्यसैगरी क्षेत्रीय तथा विश्वव्यापी महत्त्वका विषयमा विचार आदानप्रदान गर्दै जलवायु परिवर्तनका चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय प्रयासलाई थप प्रभावकारी बनाउने विषयमा पनि कुराकानी भएको थियो।