काठमाडौँ । मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार लेखिका वीणा जोशी (राजभण्डारी) लाई प्रदान गरेको छ। नेवार समुदायका परम्परागत मुकुन्डोनाचसम्बन्धी पुस्तकका लागि उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
मदन पुरस्कार गुठीको भदौ २१ गते बसेको साधारण सभाले २०८२ सालमा प्रकाशित २९८ पुस्तकमध्येबाट जोशीको कृतिलाई मदन पुरस्कारका लागि छनोट गरेको थियो।
गुठीका अनुसार सामुदायिक अभ्यासमा रहेको नेवार समुदायको परम्परागत नाचको सङ्कलन, अभिलेखीकरण तथा संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएकाले उक्त कृतिलाई पुरस्कारका लागि योग्य ठहर गरिएको हो।
पुरस्कार ग्रहण गर्दै लेखिका जोशीले मदन पुरस्कार नेपाली साहित्यको आकाशमा बलिरहेको चम्किलो दीपक भएको बताइन्। उक्त पुरस्कार ग्रहण गर्न पाउँदा आफूलाई गौरव महसुस भएको उनको भनाइ थियो।
यस वर्ष मदन पुरस्कारका लागि प्रारम्भिक चरणमा १० पुस्तक उत्कृष्ट सूचीमा समावेश गरिएका थिए।
मदन पुरस्कार गुठीले नेपाल तथा नेपालबाहिर नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये उत्कृष्ट एक कृतिलाई मदन पुरस्कार प्रदान गर्दै आएको छ। त्यस्तै, नेपाली भाषा, वाङ्मय तथा संस्कृतिको श्रीवृद्धिमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई जगदम्बा–श्री पुरस्कार प्रदान गरिँदै आएको छ।