काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति वासुदेव त्रिपाठी र पत्रकार निर्मल अर्याल सम्मानित भएका छन् ।
नयाँबस्ती युवा क्लबको ४०औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गा उप्रेतीले त्रिपाठी र अर्याललाई सम्मान गर्दै नेपाली भाषा, साहित्य, वाङ्मय तथा संस्कृतिको उन्नयनमा उनीहरूले महत्त्वपूर्ण योगदान पुर्याएको बताए । उनले साहित्यको विकासका लागि भाषा र शैलीमा आधुनिक वाक्यविन्यासको प्रयोगले नेपाली भाषालाई थप गतिशील बनाउन सक्ने विश्वास व्यक्त गरे ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले लेखक तथा साहित्यकारले समाजमा विद्यमान विसङ्गति र विकृतिविरुद्ध साहित्य सिर्जना गर्दै आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान दिनुपर्नेमा जोड दिए ।
सम्मानित साहित्यकार त्रिपाठीले सामाजिक विकासका लागि साहित्य सशक्त माध्यम भएको बताए । उनले स्रष्टाले समाजका सांस्कृतिक सम्पदा, जातीय विविधता तथा आर्थिक पीरमर्कालाई गहन अध्ययन र अनुभूतिका आधारमा भाषा–कौशलमार्फत यथार्थ रूपमा प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गरे।