त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले क्षति पुर्याएपछि नुवाकोट र रसुवा जिल्लालाई जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलिब्रिज जडानको काम तीव्र पारिएको छ।
पुल निर्माणका लागि आवश्यक प्राविधिक सामग्री कार्यस्थलमा ल्याउने क्रम जारी रहेको छ। यही बुधबारदेखि पुल जडानको प्रत्यक्ष काम सुरु गरी दसैँअघि नै यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री सेनाको मौज्दात रहेको धादिङको बैरेनी र बाराबाट ढुवानी भइरहेको छ।
आवश्यक सबै सामग्री मंगलबारसम्म वेत्रावती पुर्याइसक्ने र सामग्री आइपुगेपछि बुधबारदेखि नेपाली सेनाको ५५ सदस्यीय विशेष प्राविधिक टोलीले बेलिब्रिज जडानको काम अघि बढाउने तयारी छ।
सामान्य अवस्थामा बेलिब्रिज जडान गर्न करिब तीन दिन लाग्ने भए पनि वेत्रावतीमा पुरानो ‘जिप’ अर्थात् पुलको मुख्य आधार संरचना होचो भएकाले त्यसलाई थप दुई मिटर उचाइ बढाउनुपर्ने भएको छ।
थप गरिएको कंक्रिट संरचना पूर्ण रूपमा सुक्न तथा मजबुत हुन केही समय लाग्ने भएकाले दसैँको फूलपातीसम्म पुलबाट सवारीसाधन सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको सेनानी चौलागाईंले बताए।
यसअघि वेत्रावतीस्थित पक्की पुलको ‘जिप’ भोटेकोशीबाट आएको बाढी तथा मलबेको बहावले पुरेको थियो। सोही स्थानमा नयाँ एक्रोब्रिज जडान गर्न पुरानो जगको संरचनामा दुई–दुई मिटर उचाइ थपिएको हो।
निर्माण गर्न लागिएको नयाँ एक्रोब्रिज ७४ मिटर लामो र ५.५ मिटर चौडा हुनेछ। यसको भारवहन क्षमता ६० टन रहने प्राविधिक विवरणमा उल्लेख छ।
वेत्रावतीसम्म सडक पहुँच पुनःस्थापित भएपछि पुल निर्माणका लागि आवश्यक भारी सामग्री ढुवानी तथा निर्माण कार्य अघि बढाउन सहज भएको छ। गल्छी–रसुवागढी सडक योजनाको कार्यालयले अवरुद्ध सडक खुलाएपछि पुल निर्माणले थप गति लिएको हो।
सडक पहुँच पूर्ण रूपमा पुनःस्थापित हुनुअघि नै नेपाली सेनाको टोली वैकल्पिक मार्ग हुँदै वेत्रावती पुगेर पुल निर्माणका लागि आवश्यक स्थलगत अध्ययन (रेक्की) तथा ‘जिप’को उचाइ बढाउने काम सम्पन्न गरिसकेको सडक आयोजनाले जनाएको छ।
भोटेकोशी बाढीका कारण क्षतिग्रस्त आगिटार–वेत्रावती सडक खण्ड शनिबारदेखि नै पुनः सञ्चालनमा आइसकेको छ।
दसैँअघि वेत्रावतीमा बेलिब्रिज निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सके नुवाकोटबाट रसुवा सदरमुकाम धुञ्चेसम्म सडकमार्फत आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
बेलिब्रिज सञ्चालनमा आएपछि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध नुवाकोट–रसुवा सडक सम्पर्क पुनःस्थापित हुनेछ। सडक सम्पर्क विच्छेद हुँदा रसुवाको दैनिक जनजीवन तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था प्रभावित हुँदै आएको छ।