बागलुङ । गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गते आएको बाढी, पहिरो तथा हुरीका कारण ६३ घरमा क्षति पुगेको छ।
गलकोट नगरपालिकाका अनुसार विपद्का कारण एक वडा कार्यालयसहित ६३ घरमा क्षति भएको हो। त्यस्तै, थप १३३ घरमा आंशिक क्षति पुगेको नगरपालिकाले जनाएको छ।
हुरीका कारण ३९ घरमा पूर्ण र ५२ घरमा आंशिक क्षति भएको विवरणमा उल्लेख छ।
विपद्का कारण सिँचाइ संरचनामा समेत ठूलो क्षति पुगेको छ। नगरपालिकाका अनुसार पक्की सिँचाइका २१ संरचनामा ठूलो तथा २४ संरचनामा सामान्य क्षति भएको छ। यस्तै, कच्ची सिँचाइका २०३ संरचनामा समेत नोक्सानी पुगेको छ।