काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र तथा समग्र नेपाली राजनीतिमा देखिएको लोकतान्त्रिक संस्कृतिको क्षय रोक्दै युगानुकूल राजनीतिक रूपान्तरण आवश्यक रहेको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा शर्माले राजनीतिक प्रणालीसँगै राजनीतिक दल, नेतृत्व र कार्यकर्ताको संस्कार तथा व्यवहारमा समेत सुधार आवश्यक रहेको उल्लेख गरेका छन्।
उनले कांग्रेसले आफ्ना कमजोरीप्रति आत्मालोचना गर्दै लोकतान्त्रिक संस्कृतिको पुनर्जागरणका लागि पहल गर्नुपर्ने प्रस्ताव गरेका छन्।
शर्माले लोकतन्त्रलाई केवल निर्वाचनमा सीमित गर्न नहुने उल्लेख गर्दै नागरिकका प्रश्न, सहभागिता, जवाफदेहिता, विधिको शासन तथा संस्थाप्रतिको सम्मानलाई लोकतान्त्रिक व्यवस्थाका महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेका छन्।
गल्तीको भार संस्थामाथि नबोकाउने
प्रतिवेदनमा शर्माले व्यक्तिको गल्तीको भार संस्थामाथि नबोकाउने स्पष्ट नीति कांग्रेसले लिनुपर्ने बताएका छन्।
कानुन उल्लंघनका घटनामा पार्टीका नेता तथा कार्यकर्ताले व्यक्तिगत रूपमा कानुनी प्रक्रियाको सामना गर्नुपर्ने, तर आरोपकै आधारमा निर्दोष व्यक्तिलाई फसाउन नहुने र दोषीलाई राजनीतिक संरक्षणसमेत दिन नहुने उनको प्रस्ताव छ।
नेतृत्वलाई ‘जमेको पोखरी’ होइन, ‘बगिरहने नदी’ बनाउने
शर्माले पार्टी नेतृत्वलाई ‘जमेको पोखरी’ नभई ‘बगिरहने नदी’ जस्तो बनाउनुपर्ने बताएका छन्।
निश्चित समय र औचित्यपछि नेतृत्वले सम्मानजनक रूपमा बहिर्गमनको बाटो रोज्नुपर्ने उनको प्रस्ताव छ। एउटै नेतृत्व पटकपटक दोहोरिँदा नागरिकमा वितृष्णा बढ्ने र नेतृत्वका विगतका सकारात्मक योगदानसमेत ओझेलमा पर्ने उनले उल्लेख गरेका छन्।
कांग्रेसले आगामी दिनमा नेतृत्वलाई ताजगीपूर्ण र गतिशील बनाउँदै त्यसलाई विधान, संविधान र लोकतान्त्रिक संस्कारबाट सुरक्षित गर्ने नीति लिनुपर्ने शर्माको भनाइ छ।
पार्टीभित्र नेतृत्व चयन गर्दा व्यक्तिको प्रभाव, पहुँच र सम्बन्धभन्दा विचार, क्षमता तथा योजनालाई प्राथमिकता दिनुपर्ने उनले प्रस्ताव गरेका छन्।
‘३५ वर्षमा कुनै प्रगति भएन’ भन्ने भाष्य गलत
शर्माले पछिल्लो ३५ वर्षमा नेपालमा कुनै प्रगति नभएको भन्ने भाष्य तथ्यसंगत नभएको दाबी गरेका छन्।
भोटेकोसी बाढीबाट क्षति भएका सडक, पुल तथा जलविद्युत् आयोजनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले तीमध्ये अधिकांश संरचना पछिल्लो ३५ वर्षमै निर्माण भएको उल्लेख गरेका छन्।
यस अवधिमा नेपालले सशस्त्र द्वन्द्व, राजाको प्रत्यक्ष शासन, भूकम्प तथा कोरोना महामारीजस्ता चुनौती सामना गरे पनि विभिन्न क्षेत्रमा उपलब्धि हासिल गरेको उनको भनाइ छ।
राजनीतिक बहसमा मुलुकका उपलब्धि र कमजोरी दुवैलाई तथ्यका आधारमा मूल्यांकन गर्नुपर्ने शर्माले बताएका छन्।
राजनीतिक विरासतभन्दा विचारलाई प्राथमिकता
शर्माले लोकतान्त्रिक राजनीतिमा पारिवारिक वा राजनीतिक विरासतभन्दा विचारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
प्रतिवेदनमा उनले बीपी कोइरालाको विचारलाई नयाँ पुस्तासँग जोडेर अघि बढाउनुपर्ने उल्लेख गर्दै कांग्रेसले नयाँ पुस्तालाई पार्टीको विचार तथा लोकतान्त्रिक संस्कृतिसँग जोड्नुपर्ने प्रस्ताव गरेका छन्।
राजनीतिक नेतृत्वको मूल्यांकन वंश वा विरासतका आधारमा नभई विचार, योगदान र कार्यसम्पादनका आधारमा हुनुपर्ने उनको भनाइ छ।
गुटको विकल्प विचार र नीति
शर्माले कांग्रेसभित्र परम्परागत गुटको अन्त्य गर्नुको अर्थ नयाँ गुट निर्माण गर्नु नभएको स्पष्ट पारेका छन्।
गुटको विकल्प विचार, नीति, योजना र दृष्टिकोण हुनुपर्ने उनको प्रस्ताव छ। पार्टीलाई व्यक्तिकेन्द्रित समूहभन्दा नीति र विचारमा आधारित संगठनका रूपमा अघि बढाउनुपर्ने धारणा उनले प्रतिवेदनमार्फत अघि सारेका छन्।
यसअघि पनि शर्माले कांग्रेसको १५औँ महाधिवेशनलाई पार्टीको नयाँ यात्राको सुरुवातका रूपमा व्याख्या गर्दै नयाँ पुस्ताको भावनालाई समेटेर पार्टीलाई अघि बढाउने बताएका थिए।