भोटेकोशी–त्रिशूली बाढीमा खोज तथा उद्धार स्थगित, पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिने सरकारको निर्णय

भोटेकोशी–त्रिशूली बाढीमा खोज तथा उद्धार स्थगित, पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिने सरकारको निर्णय

काठमाडौं । सरकारले अत्यावश्यकबाहेकका अवस्थामा भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार टोली परिचालनको चरण हाललाई स्थगित गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले अत्यावश्यक खोज तथा उद्धार कार्य भने जारी राख्दै पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिने निर्णय गरेको हो।

जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति तथा स्थलगत अवलोकनबाट प्राप्त एकीकृत सिफारिसका आधारमा सरकारले खोज तथा उद्धारको चरण स्थगित गरी पुनर्निर्माणको चरणमा प्रवेश गर्ने निर्णय गरेको हो।

बैठकले बाढी तथा पहिरो प्रभावित क्षेत्रको समग्र पुनर्निर्माण र पुनःस्थापनाका लागि विभिन्न मन्त्रालय तथा विषयगत निकायबाट प्रस्तावित ५०४ वटा योजना तथा कार्यक्रमका लागि कुल ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम स्वीकृत गरिएका ती योजना तथा कार्यक्रमका लागि आवश्यक स्रोत व्यवस्थापन अर्थ मन्त्रालयमार्फत गरिनेछ।

त्यस्तै, लागत अनुमान खुल्न बाँकी तथा प्राथमिकीकरण हुन बाँकी आयोजनाको थप विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई बैठकले निर्देशन दिएको छ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका काम संघ, प्रदेश र स्थानीय सरकारबीचको चुस्त समन्वयमा भइरहेको र अब पुनर्निर्माण तथा पुनःस्थापनाका काम पनि सोही समन्वयात्मक ढाँचामा अघि बढाइने बताए।

यस कार्यमा विपक्षी दल तथा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं बागमती, गण्डकी, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सरकारलाई पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

बैठकले भोटेकोशी–त्रिशूली बाढी तथा मनसुनजन्य विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

खोज, उद्धार, राहत तथा पुनःस्थापनामा आफ्नो ज्यानको बाजी लगाएर निरन्तर खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्र, स्वयंसेवक तथा सञ्चारकर्मीप्रति परिषद्ले उच्च प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेको छ। साथै, विपद्का बेला सहयोग पुर्‍याउने दातृराष्ट्र तथा विकास साझेदारहरूप्रति पनि परिषद्ले आभार प्रकट गरेको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!