४८७ किलो गाँजा प्रकरणमा मुख्य आरोपीलाई सरकारी वकिलबाट उन्मुक्ति

४८७ किलो गाँजा प्रकरणमा मुख्य आरोपीलाई सरकारी वकिलबाट उन्मुक्ति

काठमाडौँ । धनकुटाको भेडेटारबाट महोत्तरी ल्याइएको ४८७ किलो गाँजा कारोबारमा मुख्य भूमिका देखिएका एक व्यक्तिलाई सरकारी वकिलले मुद्दा नचलाएको पाइएको छ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको अनुसन्धानमा महोत्तरीको एकडारा गाउँपालिका–५ का ३१ वर्षीय सुरेश चौधरीको गाँजा कारोबारमा मुख्य भूमिका देखिएको थियो। प्रहरीले उनलाई प्रतिवादी बनाउन अदालतबाट पक्राउ पुर्जीसमेत लिएको थियो। तर, जिल्ला सरकारी वकिल कार्यालय महोत्तरीले उनको नाम प्रतिवादीको सूचीबाट हटाएर अन्य चार जनाविरुद्ध मात्र अभियोग दायर गरेको हो।

महोत्तरीका सहायक जिल्ला न्यायाधिवक्ता दिपेन्द्रकुमार दासले असोज १६ गते चौधरीको नाम हटाएर अदालतमा अभियोगपत्र दायर गरेका थिए।

असार २० गते बिहान करिब १ बजे महोत्तरीको एकडारा गाउँपालिका–१ भटौलियामा ना.३ ख ६५९२ नम्बरको ट्रकलाई सशस्त्र प्रहरीले रोकेर जाँच गर्दा ४० किलो ३६० ग्राम गाँजा बरामद गरेको थियो। सशस्त्र प्रहरीको नम्बर ९ गण हेडक्वार्टरबाट खटिएको टोलीले ट्रकका चालक र सहचालकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–६ का २४ वर्षीय ट्रक चालक साधुराम थिङ र सोही ठाउँका २१ वर्षीय सहचालक विपश नेगी थिए।

उनीहरूको बयानका आधारमा प्रहरीले असार २१ गते महोत्तरी गाउँपालिका–४ स्थित रानी रतवडामा ४२ वर्षीया लिलम देवीको घरमा लुकाएर राखिएको थप ४४६ किलो गाँजा बरामद गरेको थियो। प्रहरीका अनुसार ट्रक चालक गाँजा अनलोड गरेर फर्किने क्रममा पक्राउ परेका थिए।

चालक साधुराम थिङले प्रहरीसमक्ष दिएको बयानमा उक्त गाँजा असार १८ गते भेडेटारबाट ‘बिक्रम राई’ नाम गरेका व्यक्तिले पठाएको बताएका थिए। तर, प्रहरीले राईका विषयमा थप अनुसन्धान नगरी अनुसन्धान प्रतिवेदन बुझाएको पाइएको छ।

सरकारी वकिलले ट्रक चालक थिङ, सहचालक नेगी, महोत्तरी गाउँपालिका–३ का ३६ वर्षीय रन्धीर ठाकुर र गाँजा बरामद भएको घरकी धनी लिलम देवीलाई मात्र प्रतिवादी बनाएको छ।

प्रहरीको अनुसन्धानअनुसार भेडेटारबाट ल्याइएको गाँजा जनकपुरको पिडारी चोक नजिकबाट मोटरसाइकलले स्कर्टिङ गर्दै महोत्तरी पुर्‍याइएको थियो। उक्त स्कर्टिङमा प्रयोग भएको म.प्र. ०२–००८ प ९२४० नम्बरको मोटरसाइकल रन्धीर ठाकुरको नाममा रहेको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार गाँजा तस्करी भएको समयमा रन्धीर ठाकुर र सुरेश चौधरीबीच १३ पटक फोन सम्पर्क भएको सीडीआरमा देखिएको छ। अनुसन्धान प्रतिवेदनमा सुरेशको लोकेसन घटनाको समयमा धनुषाको जिरोमाइल, महोत्तरीको रतौली–गोहीपिपरा र रतवडा–बलवा क्षेत्रमा देखिएको उल्लेख छ।

सीडीआर विश्लेषण गर्दा गाँजा रिसिभ गर्ने समयमा सुरेश चौधरी, रन्धीर ठाकुर र विपश नेगीको साझा लोकेसनसमेत देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

यद्यपि, जिल्ला न्यायाधिवक्ता उदयचन्द्र अधिकारीले सुरेश चौधरीविरुद्ध थप प्रमाण नखुलेको भन्दै उनलाई अभियोगमा समावेश नगरिएको बताएका छन्।

उनका अनुसार अनुसन्धान प्रतिवेदनमा सीडीआर विवरणका आधारमा मात्र प्रतिवादी बनाउन राय दिइएको थियो। चौधरीविरुद्ध थप प्रमाण खुलेमा पछि छुट्टै अभियोग लैजान सकिने उनको भनाइ छ।

यस प्रकरणमा प्रतिवादी बनाइएका रन्धीर ठाकुर यसअघि पनि आपराधिक मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्। उनलाई २०६९ जेठ १६ गते काठमाडौँ जिल्ला अदालतले २ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना सुनाएको थियो।

त्यस्तै, ट्रक चालक साधुराम थिङविरुद्ध महोत्तरी प्रहरीले यसअघि पनि अर्को मुद्दामा प्रतिवादी बनाएको थियो। उक्त मुद्दामा असार २९ गते महोत्तरी जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि महोत्तरी कारागारमा थुनामा पठाएको थियो।

सरकारी वकिलले मुद्दा नचलाएका सुरेश चौधरी यसअघि सार्वजनिक शान्तिविरुद्धको कसुरमा १० हजार रुपैयाँ जरिवाना ठहर भएका व्यक्ति हुन्। प्रहरीले उनलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा १६ बमोजिम पटके कसुरदारका रूपमा थप सजायको मागसहित प्रतिवादी बनाउन राय दिएको थियो। तर, सरकारी वकिलले उनको नाम अभियोगपत्रमा समावेश नगरेको हो।

लिङ्क सफलतापूर्वक कापि गरियो!