कर्णालीका मुख्यमन्त्री शाहीले ६३ दिनपछि सार्वजनिक गरे सम्पत्ति विवरण, १० तोला सुनदेखि १८ लाख ऋणसम्म

कर्णालीका मुख्यमन्त्री शाहीले ६३ दिनपछि सार्वजनिक गरे सम्पत्ति विवरण, १० तोला सुनदेखि १८ लाख ऋणसम्म

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार ग्रहण गरेको ६३ दिनपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

सार्वजनिक विवरणअनुसार मुख्यमन्त्री शाही र उनको परिवारका नाममा मुगुमा घरजग्गा, सुनचाँदी, बैंक मौज्दात, सवारीसाधन तथा अन्य सम्पत्ति रहेको छ। विवरणमा अधिकांश जग्गाजमिन र केही घरलाई पैतृक सम्पत्तिका रूपमा उल्लेख गरिएको छ।

आमाको नाममा २२ भन्दा बढी कित्ता जग्गा

मुख्यमन्त्री शाहीकी आमा ऐशा शाहीको नाममा मुगुको सोरु गाउँपालिका–६ मा २ हजार ९४३.५० वर्गमिटर क्षेत्रफलमा फैलिएको घर रहेको छ। उक्त घरको स्रोत पैतृक सम्पत्ति रहेको उल्लेख छ।

त्यस्तै, उनकी छोरी उस्मिता शाहीको नाममा साविक श्रीनगर गाविस–४ मा ५६.२५ वर्गमिटर क्षेत्रफलको घर रहेको छ। उक्त घर बकसपत्रमार्फत प्राप्त भएको विवरणमा उल्लेख गरिएको छ।

मुख्यमन्त्री शाहीको नाममा साविक जिमा गाविस–९ मा ४०२ वर्गमिटर जग्गा रहेको छ। उनकी श्रीमती नारायणदेवी शाहीको नाममा साविक श्रीनगर गाविस–४ मा ४२४ वर्गमिटर जग्गा रहेको छ। उक्त जग्गा २० लाख रुपैयाँमा खरिद गरिएको र त्यसको स्रोत व्यवसायबाट प्राप्त आम्दानी रहेको जनाइएको छ।

त्यसैगरी, मुख्यमन्त्री शाहीकी आमाको नाममा साविक जिमाका विभिन्न वडामा २२ भन्दा बढी कित्ता जग्गा रहेको विवरणमा उल्लेख छ। ती सबै जग्गाको स्रोत पैतृक सम्पत्ति रहेको जनाइएको छ।

१० तोला सुन र १० तोला चाँदी

मुख्यमन्त्री शाहीले आफ्नो नाममा १० तोला सुन र १० तोला चाँदी रहेको विवरण सार्वजनिक गरेका छन्। सुनमध्ये चार तोला पैतृक सम्पत्ति रहेको उल्लेख छ।

दुई तोला सुन २०५३ सालमा शिक्षकको तलबबाट ५० हजार रुपैयाँमा खरिद गरिएको विवरणमा जनाइएको छ। त्यस्तै, २०७५ सालमा व्यवसायबाट प्राप्त आम्दानीबाट ४० हजार रुपैयाँमा एक तोला, २०८० सालमा पारिश्रमिकबाट ९० हजार रुपैयाँमा एक तोला र २०८१ सालमा पारिश्रमिकबाटै दुई लाख ४० हजार रुपैयाँमा थप दुई तोला सुन खरिद गरिएको उल्लेख छ।

मुख्यमन्त्री शाहीको बैंक खातामा दुई लाख रुपैयाँ मौज्दात रहेको र त्यसको स्रोत सरकारी सुविधा रहेको विवरणमा जनाइएको छ। उनको नाममा कुनै कम्पनीको सेयर, ऋणपत्र वा अन्य धितोपत्र भने नरहेको उल्लेख छ।

१८ लाख ऋण, छोरीको नाममा स्कुटर

सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री शाहीले कृषि विकास बैंकको मुगु शाखाबाट २०७९ असार २८ गते १८ लाख रुपैयाँ ऋण लिएका छन्। उक्त ऋणमध्ये केही रकम भुक्तानी भइसकेको जनाइएको छ।

सवारीसाधनतर्फ उनकी छोरी उस्मिता शाहीको नाममा २०७५ सालमा दुई लाख ३५ हजार रुपैयाँमा खरिद गरिएको सुजुकी स्कुटर रहेको छ। परिवारका नाममा चारपाङ्ग्रे निजी सवारीसाधन भने नरहेको विवरणमा उल्लेख छ।

पशुधनतर्फ मुख्यमन्त्री शाहीसँग सातवटा गाईगोरु रहेको जनाइएको छ। त्यस्तै, ९० हजार रुपैयाँ मूल्यको सामसुङ मोबाइल, ६० हजार रुपैयाँको भिभो मोबाइल, एक लाख १० हजार रुपैयाँको क्यामरा र ९० हजार रुपैयाँ मूल्यको ल्यापटप रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!