प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्न, १२ विधेयक पारित

प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्न, १२ विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। गत वैशाख २८ गतेदेखि सुरु भएको अधिवेशन असोज १६ गतेसम्म चलेको हो। १४५ दिनसम्म चलेको यस अवधिमा प्रतिनिधि सभाका ६८ वटा बैठक बसेका थिए।

अधिवेशन समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले संसद्ले दोस्रो अधिवेशनका क्रममा १२ वटा विधेयक पारित गरेको जानकारी दिए।

यस अधिवेशनबाट आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक, २०८३ तथा सम्पत्ति शुद्धीकरण निवारण तथा केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलगायत १२ वटा महत्वपूर्ण विधेयक पारित भएका छन्। तीमध्ये ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन्।

त्यस्तै, २० वटा विधेयक विभिन्न संसदीय समितिमा विचाराधीन रहेका छन् भने केही अन्य विधेयक प्रक्रियामा रहेको सभामुख अर्यालले जानकारी दिए।

दोस्रो अधिवेशनका क्रममा हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय विशेष संसदीय समिति गठन गरिएको थियो। यसै अधिवेशनबाट सरकारको बजेटसमेत पारित भएको थियो।

सभामुख अर्यालले संसद्ले कानुन निर्माणका अतिरिक्त जनसरोकारका विषय, विपद् व्यवस्थापन तथा समसामयिक राष्ट्रिय मुद्दामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

उनले युवा सांसदहरूले संसद्मा प्रस्तुत गरेका तार्किक विचार र बहसले संसदीय अभ्यासलाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याएको उल्लेख गरे।

लिङ्क सफलतापूर्वक कापि गरियो!