काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा प्रचारप्रसारलाई सीमित गर्दै नयाँ निर्वाचन आचारसंहिता लागू गरिएको छ। यही असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने महाधिवेशनलाई लक्षित गर्दै केन्द्रीय निर्वाचन समितिले आचारसंहिता जारी गरेको हो।
हालै भोटेकोशीलगायत देशका विभिन्न क्षेत्रमा आएको प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएको तथा देश शोक र पुनरोत्थानको कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थालाई ध्यानमा राख्दै प्रचारप्रसारलाई निरुत्साहित गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
समितिले विपद्को विशेष परिस्थिति, राष्ट्रिय संवेदना र वातावरणीय पक्षलाई ध्यानमा राख्दै नेतृत्वका विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षी तथा उम्मेदवारका लागि साविकको व्यवस्थासँगै थप कडा प्रावधान लागू गर्ने निर्णय गरेको जनाएको छ।
यस्तो छ नयाँ आचारसंहिता
१. तडकभडक र भड्किलो प्रचारमा रोक
महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन जुनसुकै प्रकारका भड्किला प्रचार अभियान पूर्ण रूपमा निषेध गरिएको छ।
२. प्रिन्ट तथा भौतिक प्रचार सामग्रीमा प्रतिबन्ध
महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेट वा अन्य कुनै पनि प्रकारका छापिएका प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पाइने छैन।
३. महाधिवेशन स्थल बाहिर प्रचार गर्न नपाइने
महाधिवेशन स्थलको बाहिरी परिसर, सार्वजनिक सडक तथा आसपासका क्षेत्रमा कुनै पनि प्रकृतिका भौतिक प्रचार सामग्री राख्न वा प्रदर्शन गर्न रोक लगाइएको छ।
४. डिजिटल माध्यमबाट मात्र प्रचार गर्न अनुमति
उम्मेदवारहरूले आफ्ना एजेन्डा तथा उम्मेदवारीसम्बन्धी विवरण सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यमबाट मात्र सम्प्रेषण गर्न पाउनेछन्।
निर्वाचन समितिले नयाँ आचारसंहिताको पालना गरी महाधिवेशनलाई मर्यादित, अनुशासित र मितव्ययी बनाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।