काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले वर्तमान सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल भएको भन्दै कडा आलोचना गरेका छन्।
राष्ट्रिय सभामा बोल्दै नेता सुवेदीले सरकारले लोकतन्त्र र संविधानको रक्षा गर्नुको सट्टा ‘विजयको उन्माद’ मा रमाएको र प्रश्न गर्ने आम नागरिकलाई होच्याउने काम गरिरहेको आरोप लगाए।
सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा भने अमानवीय र जनविरोधी काम गरिरहेको उनको जिकिर थियो। बेपत्ता व्यक्तिको खोजीमा रहेकी महिलाप्रति दुर्व्यवहार भएको, अस्पतालको गेटमै सुत्केरी हुनुपर्ने अवस्था सिर्जना भएको तथा बालबालिकामाथि हिंसात्मक घटना हुँदा पनि सरकार असंवेदनशील बनेको उनले बताए।
प्रधानमन्त्री र सरकार गठन प्रक्रियामाथि समेत गम्भीर प्रश्न उठाउँदै सुवेदीले वर्तमान सरकार कुनै विचारभन्दा पनि नकारात्मकताको प्रचारबाट जन्मिएको दाबी गरे। जनताले भोट दिएर विश्वास गरे पनि अहिलेको नेतृत्वले प्रश्न सोध्ने नागरिकलाई ‘झोले’ वा ‘मूर्ख’को संज्ञा दिँदै तानाशाही शैली प्रदर्शन गरिरहेको उनको आरोप थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बालुवाटार बोलाएर नियन्त्रणमा राख्ने प्रयास गरिएको उल्लेख गर्दै उनले सरकारले संवैधानिक निकायको मर्यादा मिचेको आरोप लगाए।
३५ वर्षे राजनीतिक परिवर्तनका उपलब्धिहरूलाई ओझेलमा पार्ने प्रयास भइरहेको दाबी गर्दै सुवेदीले लोडसेडिङको अन्त्य, सडक सञ्जालको विस्तार तथा लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास जस्ता उपलब्धिलाई सरकारले बेवास्ता गरेको बताए।